झापामा ३.७ प्रतिशत बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर

झापा / स्थानीय तहले सेवासुविधामा रोक लगाए मात्र सामुदायिक विद्यालयमा भर्ना अभियान सफल हुने निश्कर्ष निकालेका छन् । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ जिल्ला शिक्षा कार्यालय झापाले आयोजना गरेको ‘विद्यार्थी भर्ना कार्यक्रम शैक्षिक सत्र २०७५’ विषयक कार्यक्रमका सहभागीले यस्तो निश्कर्ष निकालेका हुन् । विद्यालयमा आफ्नो बालबालिका नपठाउने अभिभावकहरुको विवरण संकलन गरेर स्थानीय तहबाट प्रदान गरिने सेवा–सुविधामा रोक लगाए मात्र विद्यालय भर्ना अभियान सफल हुने उनीहरुको ठम्याई छ ।

नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धमान कार्कीले गरिबी, विपन्न तथा निम्न वर्गका सामुदायिकमा रहेका बालबालिकालाई सामुदायिक विद्यालयसम्म पुर्याउन सरकारले आर्थिक सम्बन्धी ठोस् योजना अघि नसारेसम्म विद्यार्थी अभियान सफल नहुनेमा बताउनुभयो । नेपाल शिक्षक संगठन झापाका अध्यक्ष कृष्ण अधिकारीले स्थानीय तहले सेवा दिनअघि सम्बन्धित अभिभावकको बालबालिका कुन विद्यालय पठनपाठन गर्छन् त्यसको आधिकारीक विवरण पेश गरेर मात्र सेवा सुविधा दिन थालेपछि मात्र झापासहित देशभर भर्ना अभियान सफल हुने धारणा राख्नुभयो ।

सामुदायिक विद्यालय व्यवस्थापनको पदाधिकारी बस्ने अनि आफ्नो बालबालिका निजी विद्यालयमा पढाउने परिपाटीको अन्त्य नभएसम्म भर्ना अभियान सफल नहुने शिक्षक जीवन भट्टराईको बुझाई छ । शैक्षिकसत्र शुरु हुने बेलामा सरकारले शिक्षकको सरुवा, नियुक्त, काजमा रोक लगाउँदा भर्ना अभियानमा असर पर्ने शिक्षक रमाकान्त चौधरीले बताउनुभयो ।

जिल्ला शिक्षा समन्वय समिति अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्लामा ३.७ प्रतिशत बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर रहेको शिक्षा कार्यालय झापाका उपसचिव रामप्रसाद ढुंगेलले जानकारी दिनुभयो ।

जिल्लामा ९६.३ प्रतिशत विद्यालय आइसकेका छन् । बाँकी ३.७ प्रतिशत बाहिर रहेकोले चुनौति बन्दै गएको उहाँले बताउनुभयो । ५–१२ उमेर समूहका बालबालिकाको नयाँ भर्ना अभियान झापामा बैशाख १ गतेदेखि शुरु भएको छ । भर्ना अभियान १४ गतेसम्म सञ्चालन हुने जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो हप्ता नियमित आउने बालबालिकालाई अबिर मालासहित स्वागत गर्ने र दोस्रो र तेस्रो हप्ता लक्षित समुदायका बालबालिकालाई सामेल गराउन जिल्लाका सबै विद्यालयलाई उहाँले आग्रह गर्नुभएकोछ ।

प्रतिक्रिया

सम्बन्धित