दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि…
जुम्ला / जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ ।
बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले मान्छे मारेको त्यतिबेलाको दृश्य किशोर अवस्था नाघिसक्दा गाउँका विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई आजै जस्तो लाग्दो रहेछ ।
तत्कालीन नेकपा माओवादी पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहका बेला सरकार र विद्रोही दुवै पक्षबाट दुर्गम गाउँका बासिन्दा निकै चपेटामा परे । तिनै पीडित गाउँ मध्यको तातोपानी–४ हाँकु जुम्लाको गिडीखोला पनि एक हो ।
आज त्यही गाउँमा २०४९ सालमा स्थापना भई जीर्ण अवस्थामा रहेको गणेश आधारभूत विद्यालय गिडिचौरको दुईकोठे भवन २४ नं कर्णाली वाहिनीअन्तर्गत भगवती दल गण जुम्लामा कार्यरत नेपाली सेनाले आफ्नै श्रमशक्तिमा बनाई दिएपछि त्यस समुदायका स्थानीय नागरिक भने दंग परेका छन् ।
“द्वन्द्वपछि गाउँमा पहिलो पटक हरियो सेता पाटा गरेको पोशाक लगाएको सेना आउँदा केही गर्ने हो कि भन्ने डर लागेको थियो, तर त्यो त शिक्षाको ज्योति खोल्ने विद्यालय बनाई दिन पो आएको रहेछ,” स्थानीयवासी कमला जैसीले भन्नुभयो ।
प्रतिक्रिया