एनसेलका ग्राहक १ करोड ६४ लाख, ५२ प्रतिशतल बोक्छन् स्मार्टफोन

काठमान्डाैं / एनसेलको मुख्य कम्पनी आजियाटाले सार्वजनिक गरेको २०१७ को रिपोर्ट अनुसार डिसेम्बर २०१७ सम्ममा एनसेलको ग्राहक संख्या १ करोड ६४ लाख पुगेको र त्यसमा ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । सन् २०१६ को तुलनामा स्मार्टफोन प्रयोगकर्ताको संख्या १० प्रतिशत बिन्दुले बढेको र कम्पनीको कुल ग्राहक संख्या पनि गत एक वर्षको अवधिमा १०.१९ प्रतिशतले बढेको उक्त रिपोर्टले उल्लेख गरेको छ। मोवाइल सेवाका ग्राहक बढ्नु, डाटाको शुल्क घट्नु र स्मार्टफोनको मुल्यमा आएको गिरावटले स्मार्टफोन प्रयोककर्ताहरु बढिरहेको टेलिकम कम्पनीहरुको भनाई रहेको छ ।

२०१७ जनवरी देखि डिसेम्बर सम्मको अवधिमा एनसेलको १५ लाख १६ हजार नयाँ ग्राहक थपिएको आजियाटाको सोे रिपोर्टले देखाएको छ । जसका अनुसार एनसेलमा ग्राहक संख्याको राम्रो वृद्घि भएको छ र यसको सहयोगले अपेक्षित अन्तर्राष्ट्रिय लामो दुरीको कल सेवाबाट भएको आय गिरावटमा राहत दिएको छ । अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने एनसेलको आम्दानी १९.६ प्रतिशतले घटेको आजियाटाले बताएको छ । पछिल्लो समयमा विदेशबाट नेपाल फोन गर्न र नेपालबाट विदेशमा फोन गर्नका लागि इन्टरनेट सेवाका माध्यामबाट विभिन्न एपहरु जस्तै ह्वाट्सएप, भाइबर, इमो, स्काइप आदीको प्रयोग बढेको लगायतका कारणले गर्दा टेलिकम कम्पनीहरुको अन्तर्राष्ट्रिय लामो दुरीको कलबाट हुने आयमा गिरावट आईरहेको छ ।

उक्त रिपोर्टका अनुसार एनसेलको २०१७ को कुल आम्दानी रु ५८ अर्ब ५४ लाख रहेको छ । जसमा इन्टरनेट सेवाबाट हुने आय पनि बढेको छ । कुल आम्दानीमा डाटाको योगदान १९ प्रतिशत छ र कुल ग्राहक संख्यामा झण्डै ४४ प्रतिशतले डाटा सेवा लिएका छन् । एनसेल कम्पनी आफैले पनि जुन २०१७ मा फोरजी सेवाको शुरुवात पश्चात डाटा सेवाको प्रयोगमा वृद्घि भएको बताउँदै आएको छ ।

सूचना प्रविधीको प्रयोग व्यापक हुँदै गईरहेको र सरकारले पनि डिजिटल नेपाल निर्माणलाई प्राथमिकतामा राख्ने बताईरहेको अवस्थामा यसरी मोवाइल, डाटा सेवाको प्रयोग तथा पहुँच बढ्दै जानु र स्मार्टफोनको प्रयोग बढ्नुलाई सकारात्मक रुपमा लिइएको छ । सरकारी तथ्याङ् अनुसार मंसिर सम्ममा देशको मोवाइल जनघनत्व १३५ प्रतिशत नाघेको छ भने इन्टरनेट सेवाको जनघनत्व ६३.१७ प्रतिशत पुगेको छ ।

फोरजी सेवाको शुरुवात पश्चात डाटा सेवा प्रतिस्पर्धी बन्दै सस्तो हुँदा प्रयोगकर्ता र माग दुवै बढिरको टेलिकम कम्पनीहरु बताउछन् । एनसेलले हाल सम्ममा काठमाण्डौ उपत्यकाका ३ शहर लगायत देशका विभिन्न २१ शहरहरुमा फोरजी सेवा पुर्याईसकेको छ जुन अहिले देशकै बृहद फोरजी नेटवर्कको रुपमा पनि चिनीएको छ । सरकारी नेपाल टेलिकमले हाले काठमाण्डौ उपत्यका र पोखरामा फोरजी सेवा दिदै आएको छ र १ वर्ष भित्रमा देशै भरी फोरजी विस्तार गर्ने गरी काम अघि बढाईएको जनाएको छ । त्यसै गरी स्मार्ट टेलिकमले पनि काठमाण्डौ र पोखरामा फोरजी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित