एनसेलको फोरजी सेवा अब लाहान र धनगढीमा

काठमाडौं / देशकै वृहद चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थप विस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान (सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । यहि आइतबार (पौष २३) देखि यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको मजाका साथै यसबाट लाभ लिन सक्नेछन् । यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जनसंख्यामा पुगेको छ ।

“अझ धेरै मानिसलाई नयाँ प्रविधिमा आधारित दु्रत गतिको मोबाइल ब्रोडब्याण्ड सेवामा पहुँच सुनिश्चित गर्दै, थप २ शहरहरु लाहान र धनगढीमा पनि फोरजी सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउदै, आफ्नो प्रतिवद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशत भन्दा बढिमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौ ।”

जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवा हाल काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ ।

एनसेलले आफ्नो फोरजी सेवा अझ विस्तार गर्दै, ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । फोरजी सेवाको विस्तारसँगै ग्राहकका लागि विभिन्न आकर्षक अफर ल्याउन कम्पनी प्रतिवद्ध रहेको एनसेलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित