एनसेलको इन्टरनेट आय प्रति महिना १ अर्व

एनसेलको डाटा सेवाबाट हुने आम्दानी झण्डै रु १ अर्वको हाराहारीमा पुगेको छ । नयाँ डाटा प्याक लगायत विभिन्न अफरहरुले गर्दा घटेको शुल्क र बढ्दो डाटाको मागले गर्दा ग्राहकहरुले गर्ने डाटा खपत गत वर्षभन्दा झण्डै दुई गुणाले बढेकाले उसको डाटा आम्दानीमा बढेको हो । एनसेलको प्रमुख लगानीकर्ता आजियाटाले सार्वजनिक गरको तेस्रो त्रैमासिक (जुलाई देखि सेपटेम्बर सम्म) प्रतिवेदन अनुसार, एनसेलको प्रति महिना प्रति ग्राहक डाटा खपत ३६१ एमबि पुगेको छ । यो भनेको प्रति ग्राहक डाटा खपत ८७ प्रतिशतको वृद्घि हो । गतवर्ष सोही अवधिमा डाटा खपत प्रति महिना प्रति ग्राहक १९३ एमबि रहेको थियो ।

शुल्कमा गिरावट, मागमा वृद्घि, स्मार्टफोन प्रयोगकर्ता र ग्राहक संख्यामा वृद्घि लगायतका कारणले गर्दा एनसेल नेटवर्कबाट भएको कुल डाटा खपत पनि बढेको छ । एनसेलको कुल डाटा खपत यो वर्षको तेस्रो त्रैमासिकमा ७७ लाख जिबी पुगेको प्रतिवेदनमा उल्लेख छ जुन गतवर्ष सोही अबधिको भन्दा दोब्बर बढि हो । गत वर्ष तेस्रो त्रैमासिकमा कुल खपत ३४ लाख जिबी थियो ।

इन्टरनेट खपतमा भएको वृद्घिसँगै एनसेलको डाटाबाट हुने आम्दानी र कुल आयमा डाटाको योगदान पनि बढेको आजियाटा प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदन अनुसार, तेस्रो त्रैमासिकमा एनसेलले कुल रु १४.५७ अर्ब आम्दानी गरेको छ र यसमा इन्टरनेट आयको २० प्रतिशत योगदान रहेको छ । कुल आयमा २० प्रतिशतका हिसाबले एनसेलले तेस्रो त्रैमासिकमा मात्र इन्टरनेट सेवाबाट रु २.९१ अर्ब आम्दानी गरेको छ । यसको मतलब कम्पनीको डाटाबाट मासिक आम्दानी झण्डै रु १ अर्ब रहेको छ ।

गतवर्षको तेस्रो त्रैमासिकको कुल आयमा डाटाबाट भएको आम्दानीको योगदान १७ प्रतिशत थियो । कम्पनीले आफ्नो फोरजी सेवा विस्तारसँगै डाटाको शुल्क थप घटाउदै, प्याक अन्र्तगत २ पैसा प्रति एमबि सम्ममा इन्टरनेट सेवा दिदै आएको छ । कुल ग्राहक संख्यामा डाटा प्रयोगकर्ताको संख्या झण्डै ४२ प्रतिशत थियो । अहिले यो संख्या ४६ प्रतिशत पुगेको प्रतिवेदनले जनाएको छ ।

आजियाटाका अनुसार, फोरजी संचालन र डाटा आयमा वृद्घिले एनसेलको अन्र्तराष्ट्रिय लामो दुरीको कलबाट हुने आयमा भएको गिरावटलाई केही राहत दिएको छ । एनसेलले जुन १ बाट फोरजी सेवा शुरु गरेको थियो र अहिले सम्ममा १९ शहरहरुमा यो सेवा फैलाइसकेको छ । प्रतिवेदन अनुसार, एनसेलको कुल ग्राहक संख्या १ करोड ५९ लाख रहेको छ

प्रतिक्रिया

सम्बन्धित