यस्तो बन्दै काँकडभिट्टा-लौकही सडक

काठमाडौं / महेन्द्र राजमार्गमा पर्ने पूर्वको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक खण्ड निर्माणका लागि कुल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । याे नेपालमा कुनै पनि सडक परियोजनामा अहिलेसम्मकै खर्चिलो हुने देखिएको छ ।

झापाको काँकडभिट्टादेखि सुनसरीको कोशी गाउँपालिकाको लौकहीसम्म कुल लम्बाई ९६ किलोमिटर रहेको छ।  काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार अगामी वर्षदेखि सुरु हुने भएको छ। आयोजनालाई ५ प्याकेजमा ठेक्का लगाइने भएको छ। यसमा काम गर्न इच्छुक निर्माण कम्पनीहरुले बुझाएका आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा छन्। यो सडक एसियन स्ट्यान्डर्ड मापदण्डको बन्नेछ।

सडकको चौडाई २४ मिटरदेखि ५० मिटरसम्म हुनेछ। सडकको अधिकार क्षेत्र (राइट अफ वे) केन्द्र भागबाट २५-२५ मिटर हुने छ। आवश्यकता अनुसार सडकखण्डका विभिन्न भागमा साना पुलहरु पनि निर्माण हुने भए पनि ६ ठुला पुलहरु यसमा पर्नेछन्।

यो सडक खण्ड आयोजना प्रदेश १ को झापा, मोरङ र सुनसरी जिल्लामा पर्नेछ। यो सडकमा चिया बगान क्षेत्र, कृषि जमिन र वन क्षेत्र समेत पर्दछ। यस सडकले चारआलीमा मेची राजमार्ग र इटहरीमा कोशी राजमार्गलाई जोडेको छ।

काँकडभिट्टा-लौकही राजमार्गले ७१ खोलाहरु पार गर्नुपर्नेछ। ती सबैमा पुलहरु निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। जसमा ३९ आरसीसी टी-बीम पुल, २३ आरसीसी स्ल्याब पुल, दुईवटा बक्स पुल, सातवटा भेन्टेड पाइप ब्रिजहरु रहेका छन्। सर्भिस रोड पनि दुवै साइटमा निर्माण गरिनेछ। शहरी क्षेत्रमा भने साइकल लेन, फुटपाथ तथा आकाशेपुल वा अन्डरपास पनि निर्माण हुनेछ।

जनावरहरुको आउजाउका लागि वन क्षेत्रमा वन्यजन्तुमैत्री क्रसिङ ब्रिज, ड्रेनेजहरु, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टीहरु निर्माण हुनेछन्। सहरी क्षेत्रमा क्यारिज-वे चार लेनको दुवैपट्टी ७.५/७.५ मिटरको हुनेछ भने फुटपाथ तथा साइकल लेन दुवैपट्टी ५.५०/५.५० मिटरको निर्माण गरिनेछ। यस्तै सर्भिस लेन सडकको दुवैतिर ६.५०/६.५० मिटरको रहेको छ। शहरी क्षेत्रमा सडक फुटपाथसहित ६ लेनमा विस्तार गरिनेछ।

यस्तै, ६ वटा पुल भने ल्यान्डमार्क ब्रिजका रुपमा निर्माण हुने बताइएको छ। यसका लागि भने आयोजनाले ठेक्का आह्वान गरेको छ। यी पुलको लम्बाई ३१८ मिटरदेखि ७०३ मिटरसम्म हुनेछ। जसमा निन्दा ब्रिज ३१८ मिटर, बिरिङ ब्रिज ३९८ मिटर, कन्काई ब्रिज, ७०३ मिटर, रतुवा ब्रिज ५८२ मिटर, बक्रा ब्रिज ३१८ र लोहेन्द्रा ब्रिज ३८४ मिटर लम्बाईको हुनेछन्।

यसैगरी, सडकखण्डमा आकाशेपुल १० र साना खालका अन्डरपास २० वटा निर्माण हुने जनाइएको छ। सडक विस्तार गर्न निर्माण कम्पनीले निर्माण सामग्रीहरु स्थानीय स्रोतबाट खरिद गर्नुपर्ने शर्त राखिएको छ। १२ वटा ठाउँमा आयोजनाका लागि क्याम्प निर्माण गरिनेछ।

आयोजनाका अनुसार साइट क्लियर भएपछि सन् २०२३ मा ठेकेदारलाई निर्माण कार्यका लागि जिम्मा दिइनेछ। आयोजनाका अनुसार यो सडक विस्तार कार्य २०२६ सम्ममा पूरा भएर संचालनमा आउनेछ। यस सडक परियोजनाबाट १२ लाखभन्दा बढी मानिसहरु लाभान्वित हुनेछन्।

सडक विस्तारका क्रममा ३६७ धरधुरीको ३७७ वटा निजी संरचनाहरुलाई प्रत्यक्ष रुपमा असर गर्ने देखिएको छ। यस्तै, २६९ वटा सामुदायिक संरचनाहरु, १४२ वटा चौतारी, २२ वटा मठमन्दिर, ४० प्रहरी चौकी लगायतका निजी तथा सार्वजनिक संरचनाहरुलाई असर गर्नेछ। यसैगरी यस आयोजनामा वन क्षेत्रबाट चार हजार ३५३ र अन्य रोडसाइडबाट आठ हजार १९५ वटा रुख काट्नु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित