११ औ धरान रनको अन्तिम तयारी, नायक दयाहाङ राई आउने

धरान / देशकै सबै भन्दा बढी धावकहरू एकै साथ दौडने म्याराथन प्रतियोगिताको अन्तिम तयारी पुरा भएको छ । सर्वाधिक सङ्ख्यामा सहभागी हुने दौड प्रतियोगिता ११ औँ नेवा च्यारिटी धरान रन १० किमी २०७९ फागुन १३ गते हुने जनाइएकाे छ । धरान रनका अध्यक्ष रमु राईका अनुसार यो संस्करणमा प्रमुख आकर्षणको व्यक्तिको रूपमा नायक दयाहाङ राई र बिबिसी सेफका विजेता सन्तोष साहकाे सहभागिता रहनेछ । प्रमुख अतिथि धरानका मेयर हर्क साम्पाङ रहनेछन्।

आयोजकले यसपालि पहिलो पटक दौडमा चिप टाइमिङ सिस्टम प्रयोगमा ल्याउने पनि जानकारी दिएको छ । प्रत्येक धावक धाविकाहरूलाई चेस्ट नम्बरमा चिप लगाएर समय मापन गरिने अध्यक्ष राईले बताए । यसले कोही पनि दौडको बिचमा फास्ट ट्र्याकबाट दौडन नसक्ने र सही टाइमिङ देखिने उनले बताए । ह्विलचियर र १३ वर्ष मुनिकाबाहेक अन्य उमेर समूहका सहभागीहरूलाई चिप लगाउने अध्यक्ष राईले बताए । पेपरलेस बनाउने उद्देश्यले इ सेवासँग समन्वय गरेर अनलाइन फर्म भर्ने पनि व्यवस्था गरिएको उनले बताए । धरान रनमा नेपाल, भारत, हङकङ, बेलायत, जर्मन, कतार आदि मुलुकबाट धावक धाविकाहरूको सहभागिता रहेको छ । शिक्षाका निम्ति च्यारेटी दौड’ भन्ने मूल नाराका साथ प्रतियोगिता सुरु भएको हो ।

१० किलोमिटरको दौड प्रतियोगितामा नेपालभित्रका मात्र नभएर विदेशबाट पनि धावक धाविकाले सहभागिता जनाउने भएका छन् । अध्यक्ष राईका अनुसार हङकङ बङ्गलादेश, कतार , अफ्रिकन नागरिक मलेसियाबाट समेत दौडमा भाग लिनेछन्। यस्तै ,सहभागीहरूलाई प्रोत्साहन गराउन क्यान्सर रोगलाई जितेर आएका व्यक्तिहरू समेत दौडने छन् ।नेपालकै सर्वाधिक धावक धाविका दौडने उक्त च्यारेटी रनमा यस वर्ष ४ हजार धावक धाविकाले दौडने अनुमान गरिएको छ । हाल सम्म ३ हजार बढिले फर्म भरिसकेका छन्।

२ हजार धावकहरूलाई मेडल वितरण गरिनेछ । हङकङबाट ल्याइएको चाँदी रङ्गको उक्त मेडलमा मानिस कुदेको आकृति खोपिएको छ । धरानको इतिहासमा नै पहिलो पटक धरान रनले धावकहरूलाई प्रोत्साहन गर्नका लागी उक्त मेडल प्रदान गर्दै आएको छ ।मेडल भने अन्य उमेर समूहभन्दा बालबालिकाहरूलाई बढी प्रदान गरिनेछ । रनको विजेताको लागी भने सुरुवात देखि नै युकेबाट स्वर्ण, रजत र कांस्य पदक ल्याइने गरेको छ ।
नेवा च्यारेटी रनमा खुल्लातर्फ प्रथम, दोस्रो र तेस्रो हुने विजयी पुरुष र महिलालाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार सहित मेडल प्रदान गरिने धरान रनका अध्यक्ष राईले जानकारी दिए ।

खुल्लाको प्रथम तर्फको नगद पुरस्कारमा १० हजार बढाइएको हो । यसका साथै १२ वर्ष, १६ वर्ष र भेट्रान तर्फ प्रथम, दोस्रो र तेस्रो हुने विजयी पुरुष र महिलालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार सहित मेडल प्रदान गरिनेछ भने सुपर भेट्रान र धरानको लोकल विजेतालाई उपहारहरू प्रदान गरिनेछ । हरेक वर्ष झैँ यस पटकको सम्मान कार्यक्रममा १३ औँ दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल धरानका खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान समेत गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित