असफलताकाे बाटाेमा विद्यालय भौतिक पूर्वाधार कार्यक्रम
![](https://snowberry.prixacdn.net/media/gallery_folder/School-photo-1-Feature_UaQx68bK23_sldqt7rt4vfsooxqiovxcymvnkztsd5ansy0l7cgeu5srpfdbugsgk5kas2p.jpg)
सुर्खेत / तीन वर्षअघि सुरु भएकाे विद्यालय पूर्वाधार निर्माण कार्यक्रम कर्णलीमा प्रभावकारी बन्न सकेको छैन । ‘एक स्थानीय तह, एक सामुदायिक विद्यालय पूर्वाधार विकास कार्यक्रम’अन्तर्गत विद्यालय छनोट र बजेट कार्यान्वयनमा देखिएको प्रक्रियागत ढिलाईले कार्यक्रम प्रभावकारी नभएको हो ।
विद्यालय छनोटमा पहुँचवालाकाे दवदबा र बजेटको अख्तियारी ढिला गर्ने प्रवृत्तिले योजनाकार्यान्वयनमा चुनौति भइरहेकाे छ । पूर्वाधारकाे अति नै खाँचो रहेका विद्यालयभन्दा पहुँचका आधारमा पूर्वाधार भइरहेकै विद्यालयलाई बजेट दिएको समेत भेटिएको छ । आवश्यकताभन्दा पनि पहुँचका भरमा बजेट दिँदा लक्षित विद्यालय मर्कामा परेका छन् । कार्यक्रमका लागि छानिएका विद्यालयले पनि समयमै बजेट नपाउँदा योजना कार्यान्वयनमा जटिलता हुने गरेको छ ।
हरेक स्थानीय तहका एक सामुदायिक विद्यालय छनोट गरी त्यहाँको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले प्रदेश सरकारले आर्थिक वर्ष ०७६/०७७ देखि यो कार्यक्रम सुरु गरेको थियो । सुरुको वर्ष प्रदेशका १० जिल्लाका ७९ वटै स्थानीय तहका विद्यालय छनोट भइ कार्यक्रम थालिएको थियो ।
उक्त वर्ष कोरोना महामारीका कारण धेरैजसो विद्यालयमा भौतिक संरचना निर्माण हुन सकेन । ये वर्ष अधिकांश विद्यालयले पाएको बजेट नै फ्रिज भयो । पछिल्लो आर्थिक वर्ष ०७७/०७८ मा कोरोना महामारीकै कारण विद्यालयहरू लामो समय बन्द रहँदा कार्यक्रम कार्यान्वयन हुन सकेन ।
गत आर्थिक वर्ष २०७८/०७९ मा ढिला गरी विद्यालय छनोट हुँदा बजेट कार्यान्वयमा समस्या भयाे । विद्यालयहरूले प्राप्त बजेटबाट साबिकको शिक्षा विभागले तोकेको भवन डिजाइन मापदण्डमा रहेर पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद उपाध्यायले त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मापदण्ड तोक्ने र स्वीकृति दिने काम गर्दै आएको छ ।
‘एक स्थानीय तह, एक विद्यालय पूर्वाधार विकास कार्यक्रम’ मा छनोट भएपछि एउटा विद्यालयले ४० लाख बजेट प्राप्त गर्छन् । सो रकमबाट विद्यालयले पूर्वाधार सुधार विस्तारका काम गर्नुपर्ने व्यवस्था छ । यस कार्यक्रमका लागि चालुु आर्थिक वर्षमा कर्णालीका ७९ स्थानीय तहलाई ३१ करोड ६० लाख बजेट विनियोजन गरिएको छ । यसपटक पनि प्रत्येक पालिकालाई तोकिएको विद्यालयमा पूर्वाधार निर्माण गर्न ४० लाखका दरले बजेट छुट्याइएको छ । चालु वर्षको बजेट भने साउन पहिलो साता नै स्थानीय तहमा पठाइसकिएको सामाजिक विकास मन्त्रालयको दाबी छ ।
प्रदेश सरकारले सम्बन्धित पालिकामा बजेट पठाएको लामो समय भइसक्दा पनि विद्यालय छनोटमा भने ढिलाइ भएको छ । विद्यालय छनोटका लागि सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिस आवश्यक पर्छ । सिफारिस भएका विद्यालयमा पूर्वाधार विकासका लागि सामाजिक विकास मन्त्रालय, प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृति दिएपछि कार्यक्रम कार्यान्वयनमा जान्छ । तर, चालु वर्षका लागि हालसम्म विद्यालय सिफारिसको काम भएपछि छनोटको अन्तिम निर्णय अझै हुन सकेको छैन । चालु वर्षका दुई महिना बितिसक्दा विद्यालय छनोट कार्य प्रक्रियामै अड्किएको हो ।
सम्बन्धित क्षेत्र र पालिकाबाट विद्यालयको नाम सिफारिस गरेर सामाजिक विकास मन्त्रालयमा पठाइएको छ । मन्त्रालयका सूचना अधिकारी उपाध्यायले छनोटको काम प्रक्रियामै रहेको जनाए । विगतका वर्षहरूमा विद्यालय छनोट हुँदा कार्यक्रम कार्यान्वयनमा जटिलता देखिएको समेत उनले बताए । ‘यो वर्ष समयमै विद्यालयको नाम सिफारिस भएर आएको छ,’ उनले भने, ‘सिफारिस भएर आएका फाइल प्रदेश योजना आयोगमा पठाइसकिएको छ । अबको केही दिनमा त्यसको टुँगो लाग्नेछ ।’ उनका अनुसार प्रदेश योजना आयोग र आर्थिक मामिला तथा योजना मन्त्रालयले स्वीकृती दिएमा ती विद्यालयका नाम सम्बन्धित पालिकामा पठाइने छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा सल्यानका १० स्थानीय तहमा फागुुनमा मात्रै विद्यालय छनोट भएका थिए । बजेट ढिलो आउँदा पूर्वाधार निर्माणमा कठिनाइ भएको सामाजिक विकास कार्यालय सल्यानका प्रमुख कृष्णप्रसाद अधिकारीले बताए । उनले त्यस वर्ष सबै बजेट खर्च नहुँदा काम अधुरै रहेको जनाए । अहिले पनि ढिलागरी विद्यालय छनोट हुने देखिएपछि कार्यान्वयनमा चुनौति हुने उनको आकलन छ । विद्यालय छनोटको स्वीकृत दिइँदा कार्यक्रम दोहोरिने समस्यासमेत रहेको बताइएको छ । संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र प्रदेश तथा स्थानीय सरकारका कार्यक्रम एउटै विद्यालय तथा एउटै स्थानीय तहमा पर्ने गरेका छन् ।
यस्तै, दैलेखका ११ वटा स्थानीय तहमा विद्यालयको पूर्वाधार सुधारका लागि चार करोड ४० लाख बजेट साउन पहिलो सातामै पठाइएको छ । त्यहाँ पनि विद्यालय छनोट भएका छैैनन् । सामाजिक विकास कार्यालयका प्रमुख भिमप्रसाद पोखरेलले अघिल्लो आर्थिक वर्षमा पनि छनोटमा ढिलो हुँदा विद्यालय भवन पूर्णरूपमा निर्माण हुन सकेका थिएनन् । गएको वर्ष दैलेखमा पाँच वटा विद्यालयको झन्डै एक करोड बजेट फ्रिज गएको थियो । साउनमा वार्षिक प्रगति समीक्षा गरेर भदौमा काम सुरु भइसक्नुपर्नेमा अझै विद्यालय छनोट नभएका हुन् ।
गत वर्ष जुम्लाका आठ स्थानीय तहमध्ये चार स्थानीय तहको गरी ८० लाख बजेट फिर्ता गएको थियो । तातोपानी, गुठीचौर, पातारासी र सिंजा गाउँपालिकाका विद्यालयहरूको बजेट खर्च नभइ फिर्ता गएको हो । पुरै बजेट कार्यान्वयन नहुँदा विद्यालयका भवन अधुरै रहेका छन् । बाँकी काम सम्पन्न गर्नका लागि माग फारम भरेर सामाजिक विकास मन्त्रालयमा पेस गरिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले जनाए । यो वर्ष सोही कार्यक्रमका लागि जुम्लामा दुई करोड ८० लाख बजेट विनियोजन भएको छ । छनोट प्रक्रियामा विलम्ब भएपछि यीसहित प्रदेशका थुप्रै विद्यालयहरूले बजेट कार्यान्वयन गर्न सकेका थिएनन् ।
विद्यालय छनोटमा राजनीतिक प्रभावसमेत हाबी हुने गरेको जानकारहरू बताउँछन् । आवश्यकता भन्दा पनि सम्बन्धित क्षेत्रका सांसदले आफूहरूको पायक पर्ने स्थानमा कार्यक्रम पार्ने गरेका हुन् । मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पिताम्वर ढकाल यस्ता योजनामा पर्याप्त अनुुगमन गरेर मात्रै विद्यालय छनोट गर्नुपर्ने बताउँछन् । कार्यक्रम दोहोरिने समस्या घटाउन विद्यालयको छनोट गर्ने जिम्मेवारी सामाजिक विकास कार्यालयलाई दिइनुपर्ने उनको भनाइ छ ।
आकाशमा बादल देख्दा पनि त्रसिन्छन् बाढीबाट विस्थापित परिवार
![एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC-line_dAfix3ocCK_ljd5j8kpmrpig6xlekyts5274zeseojv9jxux2rjrarch9sm78vg8jl43dso_647UzcEOQo_zazy5wfpvjfdsa4vuayqasw6pf9ybaqjc2uonc6ow559kjbxgsmsm9o1sx0k.jpg)
एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी
![सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/katahariya.jpg-1_ARG6TXd80v_b87jgmadwnvsh7t1b36yg7inc7wtmfdayl1q1hmrnjgx4bvelefprg2ilqco_psXVedXuzO_axnlu7vgtiqxz4pfvkwlpdicimivk5n9djlna3obk9e6pn7wvh6kisgkczo3.jpg)
सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी
![बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्किने आश थिएन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bangaladesh-nepali%2520student_BUwC4vxr4M_jtmq4wevrlu4odlgk3dww6ktan4vupllxxr05hslbj2r7ioffbui5ogix43v_NXh0VuYyp3_hiv2ipy7ifqlpb9yttkh7pybmdxjxa9bdd0zv5uxpeczcaa642pkybexq0in.jpg)
बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्कि…
![अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई तथा सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/61175_n_ACSPi3k2pJ_urw9xjff4rkhax5snyipgi0otaeajbk2q86wyepceyqiyoymzsnwumwqspan_74tSt2llv9_1bod62ovbit9eeho47vf5pztmh2wfvj8xcdro8nmwbixnrm3h2w0degiw10d.jpg)
अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई…
![विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण बढ्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuna_UUzb9VCyAM_tzvajaxgo2cvqzkbo8y7916abr7vsbuuluqtaofn6pphgk5odyskfk7ryb3o_exMfh0Hf0I_anmfefsfjavmidetrbrktllqyrnpjvtsaunnu4exv6optg5uxzwttninzhvx.jpg)
विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण …
![काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-5229-feed.jpg_WPY5tAifJV_zafaslb9qoorgmdhdpydlytvzzqtolvgfkhkgdixuoznhan8qnov3q7ido8e_EtZ6BgJpUp_k4uibsblxlztkujzdkuxmur0t534x0raam13pztjlsvh9dscozlwzizotdce.jpg)
प्रतिक्रिया