कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन

विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित बनेका विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरको शनिबार बिहान ७ बजेतिर निधन भएको छ ।
मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१० घर भएका ५० वर्षीय परासरको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेका परासरलाई परीक्षण गराउँदा दुई साताअघि कोरोना सङ्क्रमण पनि पुष्टि भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवले बताए ।

कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै रहेका बेला स्वास्थ्यमा थप समस्या भएपछि उनलाई वैशाख ३१ गने उपचारका लागि अस्पताल भर्ना गरिएको देवले बताए । निक्कै गम्भीर अवस्थामा अस्पताल ल्याइएका परासरलाई धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको जानकारी उनले दिए । देवका अनुसार उपचार जारी रहेका बेला झन् समस्या बढेपछि दुई दिनअघि भेन्टिलेटरमा राखिएका परासरको श्वासप्रश्वासमा एक्कासि समस्या भएर भेन्टिलेटरमै निधन भएको हो ।

परिवारका सदस्यले स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताइरहेका बेला एक्कासि परासरको निधनको खबर आएको विराटनगर भन्सार एजेन्ट प्रतिनिधि सञ्जय दुगडले जानकारी दिए । उनका अनुसार उच्च रक्तचाप र मधुमेहको समस्या देखिएपछि नेपाल र भारतका विभिन्न अस्पतालमा उपचारका लागि पुगेर परासरले नियमित औषधि सेवन गरिरहेका थिए । दुगडले शान्त र सालीन स्वभावका अभिभावक गुमाउँदा भन्सार एजेन्ट सङ्घ र समग्र भन्सार क्षेत्रलाई ठूलो क्षति पुगेको बताए ।

परासर मोरङ व्यापार संघ र उद्योग वाणिज्य संघ प्रदेश १ को कार्य समिति सदस्य तथा प्रदेश १ को भन्सार सम्बन्धी समितिका संयोजक रहेको जानकारी उनले दिए । सङ्का अध्यक्ष परासरको यो तेस्रो कार्यकाल थियो । २०६९ सालदेखि निरन्तर विराटनगर भन्सार एजेन्ट सङ्घको नेतृत्वमा रहेका परासरले यसअघिका दुई कार्यकाल सफलतापूर्वक रुपमा सम्पन्न गरेका थिए ।

तीन महिनाअघि भएको निर्वाचनमा सङ्का पूर्वअध्यक्ष प्रवीण जोशीलाई हराउँदै परासर तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित बनेका थिए । दुगडका अनुसार २०६२ देखि २०६९ सालसम्म जोशी अध्यक्ष हुँदा परासर सङ्घमा उपाध्यक्षको भूमिकामा थिए ।

सङ्घका अध्यक्ष परासरको निधनमा विराटनगर भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले गहिरो दुःख व्यक्त गरेका छन् । भण्डारीले परासरप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरे । उनका अनुसार परासर भन्सार प्रशासन र एजेन्टका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने असल नेतृत्वकर्ता थिए ।

‘व्यापार सहजीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका असल व्यक्ति गुमाउनु पर्दा अत्यन्तै पीडा भएको छ,’ भन्सार प्रमुख भण्डारीले भने, ‘सबैका सहयोगी तथा उच्च समन्वयकारी क्षमता भएका व्यक्तिले कोरोना महामारीका कारण पूरा जीवन बाँच्न नपाउने अवस्था बन्दा समग्र भन्सार क्षेत्रलाई अपुरणीय क्षति पुगेको छ ।’

प्रतिक्रिया

सम्बन्धित