संक्रमितको उपचार बन्द गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

विराटनगर / कोरोना भाइरस संक्रमितको उपचार बन्द गर्दै विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका स्वास्थ्यकर्मी सोमबारबाट आन्दोलनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएर संक्रमणले महामारीको रुप लिइरहेका बेला संक्रमितको उपचार नै छाडेर चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविधा नपाइएको भन्दै आन्दोलन थालेका उनीहरुले माग पूरा नभएसम्म काममा नफर्किने बताए । एक चिकित्सकका अनुसार संक्रमितको उपचारमा विशेष ध्यान दिनुपर्ने बेला न्यूनतम सुविधाकै लागि आन्दोलनमा जार्नुपर्ने अवस्था आयो ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण संक्रमितले उपचार नपाएर अवस्था थप जटिल बन्ने देखिएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र एक सय ८० बेडको छ । छ जना नर्स, तीन जना पारामेडिक्स र पाँच जना चिकित्सक कार्यरत केन्द्रमा अहिले ३२ जना संक्रमित बेड भर्ना भएरै उपचाररत छन् । आन्दोलनका कारण उपचार प्रभावित बनेपछि संक्रमितको जीवन थप जोखिममा परेको छ ।

सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्त गरेका डाक्टर, नर्स र पारामेडिक्सले कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा पाएका छन् । कोरोना संक्रमण मत्थर हुँदै गएपछि विदामा बसेका उनीहरुले अहिले पुर्ननियुक्ति पाएर काममा फर्किए पनि सरकारले तोकेको सुविधा भने पाएका छैनन् । पटक–पटक सुविधा दिन माग गरिए पनि सरकारले वास्ता नगरेको एक नर्सले बताइन् । महामारीका बेला अग्रभागमा रहेर संक्रमितको उपचारमा खटिए पनि सरकारले केही नसोच्दा धेरै दुःख लागेको उनको गुनासो छ ।

उपचारमा खटिनेलाई खाना पनि गुणस्तरहीन दिने गरिएको गुनासो स्वास्थ्यकर्मीको छ । कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले स्वास्थ्यकर्मीले उठाएको जायज माग सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको जानकारी आफूले पाएको बताए । उनले तत्काल आन्दोलन छाडेर स्वास्थ्यकर्मीले संक्रमितको उपचारमा फर्कनुपर्नेमा जोड दिए । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रका संयोजक एपोलो भगतले स्वास्थ्यकर्मीको माग सम्बोधन गर्दै समस्या समाधानका लागि मन्त्रालयसँग आवश्यक छलफल र पहल भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित