भारतमा तीव्र रुपमा फैलिएपछि विराटनगर रानी नाकामा उच्च सतर्कता

विराटनगर / भारतको जोगवनीबाट विराटनगर प्रवेश गर्ने मुख्य नाका रानीमा उच्च सतर्कता अपनाइएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थानीय प्रशासनले नाकामा थप कडाई गर्ने निर्णय लिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रण गर्न र संक्रमण फैलन नदिन बेलैमा सतर्कता आवश्यक रहेको निस्कर्ष निकालेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भारतबाट जोगवनी हुँदै विराटनगर प्रवेश गर्ने मुख्य नाकामा कडाई गर्न थालिएको जानकारी दिए । भारतबाट आउनेले कोरोना परीक्षण गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाउने उनको भनाइ छ । शंकास्पदहरुमाथि धमाधम परीक्षण हुने उनले बताए ।

निरौलाका अनुसार शंकास्पद व्यक्तिको नाकामै एण्टीजेन परीक्षण गरिने छ । एण्टीजेन जाँच गर्दा कोरोना भए नभएको तत्कालै रिपोर्ट आउने उनले बताए । रिपोर्ट पोजिटिभ आए उपचारका लागि आईसोलेसनमा भर्ना गर्ने र नेगेटिभ आउनेलाई गन्तव्यतर्फ जान दिइने प्रजिअ निरौलाको भनाइ छ ।

‘नाकामा रहेको हेल्थ डेस्क छँदैछ, त्यसलाई नै सक्रिय बनाउने निर्णय भएको छ,’ उनले भने ,‘नाकामा स्वास्थ्य जाँच गर्ने र शंकास्पदको एण्टीजेन परीक्षण हुन्छ ।’ सोमबार नै जिल्ला प्रशासन कार्यालय मोरङमा जिल्ला स्तरीय खोप समितिको बैठक बसेको थियो । बैठकमा मोरङमा पनि संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउने निर्णय भएको उनले बताए । बैठकले मोरङमा रहेको पाँच हजार आठ सय ७० डोज कोरोना खोप पहिलो र दोस्रो चरणमा छुटेका र विराटनगरका शिक्षलाई लगाइनेछ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी र दोस्रो चरणमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइएको थियो । निरौलाका अनुसार पहिलो र दोस्रो चरणमा छुटेका व्यक्ति र विराटनगरका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाइने छ । मोरङमा स्टक रहेको पाँच हजार आठ सय डोज भ्याक्सिन चैत महिनाभित्र लगाइने छ ।

प्रतिक्रिया

सम्बन्धित