सीमा सुरक्षामा सम्झौता हुँदैन : डीआईजी दाहाल

विराटनगर / सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले सीमा सुरक्षाका सवालमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन् । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टीमा स्थापना गरिएको नयाँ बीओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन कार्यक्रममा बोल्दै आइतबार दाहालले सीमाको सुरक्षाका लागि सशस्त्र प्रहरी सधैँ संवेदनशील रहेको उल्लेख गरे । ‘सशस्त्र प्रहरीको मुख्य जिम्मेवारी दुई देशबीचको अन्तर्राष्ट्रिय सीमाको रक्षा गर्ने हो,’ उनले भने, ‘यस विषयमा आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सशस्त्र प्रहरी सधैँ प्रतिवद्ध छ ।’आफ्नो प्रतिवद्धता अनुरुप सशस्त्र सधैँ अघि बढिरहेको भन्दै डीआईजी दाहालले सीमाको रक्षा, सीमा अपराध र विभिन्न गतिविधी नियन्त्रणमा कुनै कसर बाँकी नराखिने जानकारी दिए ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लैजाने र सुरक्षा अवस्थामलाई मजवुत बनाउने योजना अनुसार बीओपीको स्थापना भएको उनले स्पष्ट पारेका छन् । राष्ट्रिय सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सीमा अतिक्रमण, अन्तर्राष्ट्रिय आतंकवादी समूहको घुसपैठ, अवैध हतियार र गोलीगट्ठा तथा विष्फोटक पदार्थको ओसारपसार नियन्त्रण सशस्त्रको प्राथमिकता रहेको दाहालको भनाइ छ । दाहालले बीओपी स्थापना भएपछि शान्ति सुरक्षाको अवस्थालाई मजवुत बनाउँदै सीमाको रक्षामा दीर्घकालीन एवं सकारात्मक प्रभाव पार्न सशस्त्रले मिहिनेत गरिरहेको जानकारी पनि दिए ।

लागुऔषधको ओसारपसार, जडिबुटी तथा वन पैदावारको ओसारपसार, मानव बेचबिखन, मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । उनका अनुसार तस्करी नियन्त्रण गरेर राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै सीमा क्षेत्रका बासिन्दालाई विपद्का समयमा सहयोग गर्ने र चोरी डकैती नियन्त्रण गरेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी सशस्त्रमा छ । डीआईजी दाहालले भने, ‘दुई देशबीचको सीमा क्षेत्रलाई व्यवस्थित गर्दै गैरकानुनी धन्दा एवं अपराध नियन्त्रणमा सबै उपायको अवलम्बन गरिने छ ।’ सीमाको विकास र सुरक्षालाई सहयोग पु¥याउने मुख्य उदेश्य र सरकारको नीति अनुसार दुई देशीय सिमानामा धमाधम बीओपी स्थापना भइरहेको जानकारी उनले दिए ।

दाहालका अनुसार बीओपी स्थापनापछि भारततर्फको सीमा क्षेत्रमा भारतीय सुरक्षा बल (एसएसबी) रहेका स्थानमा नेपालतर्फ पनि सशस्त्रको उपस्थिति रहने छ । सशस्त्रलाई काम कारबाहीका दौरानमा सीमा क्षेत्रका बासिन्दा र सरोकारवालाबाट प्राप्त भइरहेको सहयोगप्रति उनले आभार व्यक्त गरे । ‘दुई देशीय सीमा मुलुककै गौरव भएकाले त्यसलाई व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारी सशस्त्रलाई छ,’ डीआईजी दाहालले भने, ‘त्यही भएकाले पिलरको रेखदेख गरेर सीमाको रक्षा, नियम र कानुनको पालनालाई विशेष ध्यान दिइने छ ।’बीओपी स्थापना र सञ्चालनले सीमा क्षेत्रको विकास र समृद्धिलाई पनि सहयोग पुग्ने उनको धारणा छ । सिमानामा कुनै समस्या आउन नदिन अन्य सुरक्षा निकाय, स्थानीय सरकार, सीमा क्षेत्रका बासिन्दा तथा सरोकारवाला लगायत सबै पक्षसँग समन्वय गरेर सशस्त्र अघि बढिरहेको जानकारी दाहालले दिए । दैनिक काम कारबाही र विभिन्न अपराध एवं अवैध धन्दा नियन्त्रण गरेर शान्ति स्थापना गर्दै सीमाको इज्जत तथा प्रतिष्ठा बढाउने विषयमा सहयोग गर्न उनले सबैमा अपिल गरेका छन् ।

विभिन्न खाले अपराध, अवैध गतिविधी, सीमा अतिक्रमण लगायतका समस्या र चोरी तस्करी सीमाको मुख्य चुनौती रहेको जानकारी दाहालले दिए । डीआईजी दाहालले बीओपी स्थापनाका लागि जग्गा प्राप्ति तथा भौतिक संरचना निर्माण र स्रोत साधनको व्यवस्थापनमा सहयोग गर्ने स्थानीय सरकार एवं सीमा क्षेत्रका बासिन्दालाई विशेष धन्यवाद दिएका छन् ।

मोरङमा सशस्त्र प्रहरीका तीनवटा नयाँ बीओपी (बोर्डर आउट पोस्ट) स्थापना गरेर आइतबार मात्रै सञ्चालनमा ल्याइएको छ । भारतसँग सीमा जोडिएको मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रंगेली नगरपालिका–५ धनापट्टी र रतुवामाई नगरपालिका–३ मीर्चाडाँगी नाकामा स्थापना गरिएका तीनवटै बीओपीको आइतबार उद्घाटन गरिएको हो । सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास, मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला र डीआईजी दाहालले संयुक्त रुपमा बीओपीको उद्घाटन गरे । कार्यक्रममा मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ पौडेल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्कासहित जनप्रतिनिधि, सामाजिक अगुवा एवं स्थानीय बासिन्दाको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित