स्कुलले पैसा नतिर्दा दुर्घटनाका घाइते अस्पतालमा बन्धक

विराटनगर / स्कुलले उपचारवापतको पैसा नतिरिदिएका कारण दुर्घटनामा परेर घाइते भएका सुनसरीका एक युवा विराटनगरको एउटा अस्पतालमा लामो समयदेखि बन्धक बनाइएका छन् । उपचारवापतको रकम भुक्तानी नहुँदा घर जान नपाएका इनरुवा नगरपालिका– ७ चाँदबेलाका १९ वर्षीय रविन सरदार एक महिनादेखि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बन्धक बनाइएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राममा रहेको सनसाइन एकेडेमी बोर्डिङ स्कुलले उनको उपचार गराएवापतको पैसा तिर्न आनाकानी गरिरहेको छ । स्कुलको ना ८ ख ८४१८ नम्बरको बस र रविनले चलाएको को २४ प ७३२६ नम्बरको मोटरसाइकल ठोक्किएर गत माघ २१ गते दुर्घटना भएको थियो ।

इटहरी– ८ फूलबारी टोलमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको टाउकोमा गहिरो चोट लाग्नुका साथै मुखको हड्डी टुट्नुका साथै दाँतहरु भाँचिए । अस्पतालका न्युरो सर्जन डा. विवेक वैद्य नेतृत्वको चिकित्सक टोलीले टाउकाको शल्यक्रिया गरेको थियो । पैसा नहुँदा मुखको भने शल्यक्रिया हुन सकिरहेको छ्रैन । उपचार ठीक भएको भन्दै अस्पतालले गत फागुन ४ गते नै डिस्चार्ज दिइसके पनि स्कुलले उपचार गर्दा लागेको पैसा तिर्न नमानेपछि एक महिनासम्म रविनलाई परिवारका सदस्यले घर लैजान सकेका छैनन् । अस्पतालले पनि उपचार खर्च भुक्तानी नभएसम्म घर जान नदिने बताएको आमा उकावतीले सरदारले बताइन् । अस्पतालले घर लैजानु भने पनि छोरालाई अस्पतालमै रुँघेर बस्नु परिरहेको उनको भनाइ छ ।

रविनको देब्रे आँखा अझैसम्म खुल्दैन । दाहिने आँखाले देख्न सक्छ । उनले दुर्घटनामा पीडित बनेका आफूहरुलाई प्रहरीले समेत असहयोग गरेको गुनासो पोखिन् । दुर्घटना लगत्तै बसका चालक इटहरी बालग्रामकै ४५ वर्षीय गोपाल नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर कुनै कारबाही नै नगरिकन छाडिसकेको पाइएको छ । न त घाइतेको उपचार खर्च दिलाउन प्रहरीले कुनै भूमिका नै खेल्यो । उपचार खर्च तिर्ने सर्तमा स्कुलले सहमतिको कागज गराए पनि अहिलेसम्म नतिरिदिएको रविनका बुवा भोला सरदारले बताए । छोरो कस्तो हुने हो भन्ने अन्योलताकाबीच प्रहरी र स्कुलकै दबाबमा सहमति गर्न आफूहरु बाध्य भएको उनले बताए । सहमति गरेर स्कुललाई सहज रुपमा बाटो खुला गरिदिए पनि स्कुलले पैसा नतिरेर बद्मासी गर्दा एक महिनादेखि अस्पतालमै बन्धक बनेको छ ।’ इलाका प्रहरी कार्यालय इटहरीमा छलफल भएपछि सहमतिको कागज तयार पारिएको उनको भनाइ छ । उनका अनुसार उपचार ठीक भएपछि बिल हेरेर सबै पैसा स्कुलले भुक्तानी गरिदिने र मोटरसाइकल पनि बनाइदिने सर्त थियो । रविनको परिवार सुकुम्बासी जीवन बिताइरहेको छ । कसैको नाममा जग्गा जमिन छैन । रविन राजमिस्त्री हुन् । जीविक चलाउन परिवारका अरु ज्याला मजदुरी गर्छन् । पारिवारिक आर्थिक अवस्था नाजुक रहेको स्थानीयले बताए ।

आमा उकावतीले पैसा अभाव भएकाले अस्पतालमा छोरो रुँघेर बस्दा खानासमेत खान नपाएको र भोकभोकै बस्नु परिरहेको गुनासो गरिन् । न त छोरालाई नै भरपेट खान दिन सकेकी छन् । छोराको प्रारम्भिक उपचारका लागि एक लाख ५० हजार ऋण गरेर र घरमा भएका हलगोरु बेचेर जुटाएको उनको भनाइ छ । उनले अब बाँकी रहेको उपचारवापतको खर्च अस्पताललाई बुझाउन सक्ने अवस्था परिवारको नभएको गुनासो पोखिन् । उजुरी दिँदा पनि प्रहरीले कारबाही अघि नबढाएको उकावतीको गुनासो छ । रविनले चलाएको मोटरसाइकलको पछाडि उनका काका सनजीत सरदार बसेका थिए । दुर्घटनामा सामान्य घाइते भएका उनी भने उपचारपछि घर फर्किएका छन् । अस्पतालका लेखा प्रमुख सुवास पोखरेलले रविनको उपचारमा छ लाख ७० हजार रुपैयाँ खर्च भएको जानकारी दिए । दुई लाख ७५ हजार तिरिसकेको र तीन लाख ९५ हजार रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ । त्योमध्ये एक लाख २० हजार रुपैयाँ भने स्कुलले उपलब्ध गराएको हो । अरु रकम रविनकै परिवारले जुटाए। परिवारले औषधिको पनि दुई लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको जनाएको छ ।स्कुलले उपचार खर्च तिर्न चासो दिएमा केही रकम छुट गर्न सकिने पोखरेलले बताए ।

स्कुलले उपचार खर्च तिर्न नमानेपछि अस्पतालबाट घर जान नपाएका रविन सरदार ।

बाँच्ने सम्भावना एकदमै कम रहेका घाइतेलाई चिकित्सकले ठूलो मिहिनेत गरेर बचाए पनि डिस्चार्ज दिएको एक महिनासम्म उपचारवापतको पैसा अस्पतालले पाउन नसकेको अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले बताए । दुई साताभन्दा बढी समय भेन्टिलेटरमा राखेर उपचार गरिएको बताउँदै उनले बस र चालक छुटेर गए पनि घाइतेलाई स्कुलले वास्ता नगरेको जानकारी दिए । विनाडीका अनुसार तत्काल मुखको शल्यक्रिया गर्नुपर्ने भए पनि पैसा नभएकाले सम्भव हुन सकेन । पैसा नभए पनि बिरामी बचाउनलाई मानवीयताको हिसाबले तत्काल टाउकाको शल्यक्रिया गरिए पनि मुखको शल्यक्रिया सम्भव नभएको उनको भनाइ छ । मुखको उपचार गर्नलाई डेन्टल सर्जरी आवश्यक रहेको उनले बताए । विनाडीले मुखको उपचार गराउन अब कम्तीमा दुई लाख रुपैयाँभन्दा बढी पैसा लाग्ने सुनाए ।

अब भने टुटेका हड्डीको अवस्था कस्तो हुन्छ भन्ने कुराले शल्यक्रिया गर्न मिल्छ कि मिल्दैन भन्ने यकिन हुने जानकारी चिकित्सकले दिएको उनले बताए । पूर्ण छुट गर्नसक्ने अस्पतालको अवस्था नरहेको विनाडीले जानकारी दिए । उनले अहिले बन्द रहेको आँखा भने बिस्तारै खुल्दै जाने पनि सुनाए । पीडित पक्षले प्रहरीसँग स्कुलले सेटिङ मिलाएर आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन् । न्याय दिलाउने भूमिकामा हुनुपर्ने प्रहरीले उल्टो खेल खेलेको उनीहरुको दाबी छ । दुर्घटनामा परेर कोही गम्भीर घाइते वा अङ्गभङ्ग भएमा चालकलाई सवारी अङ्गभङ्ग मुद्दा चलाउने कानुनी व्यवस्था छ । तर प्रहरीले भने केही पनि कारबाही नगरिकन छाडिदिएको पाइएको छ । मोटरसाइकल चालकले मादक पदार्थ सेवन (मापसे) गरेको र साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नरहेका कारण दुर्घटना गराउनेमाथि कारबाही गर्न नसकिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए । बिना लाइसेन्स मापसे गरे चलाइएको मोटरसाइकलले गलत साइडमा पुगेर बसलाई ठक्कर दिएको उनको दाबी छ । स्कुललाई नै उपचार खर्च तिराउन खोज्ने हो भने मोटरसाइकल चालकले जेल जानुपर्ने अवस्था आउनसक्ने चेतावनी उनले दिए । केसीले लाइसेन्स नलिइकन र मापसे गरेर सवारी चलाउन पाइँदैन भन्ने कानुनमै स्पष्ट व्यवस्था रहेकाले कानुन उल्लंघन गर्ने अधिकार कसैलाई नभएको जिकिर गरे ।

मोटरसाइकलको गल्ती भएकाले गलत नजिर बस्ने हुँदा स्कुललाई उपचार खर्च तिराउन नसकिएको जिकिर उनको छ । बरु वडाबाट सिफारिस गराएर उपचार खर्चमा छुट गराउनेतिर लाग्नुपर्ने उनको भनाइ छ । गलत थितिको अन्त्य गर्न स्कुललाई पैसा तिराउन नसकिएको डीएसपी केसीको जिकिर छ ।
व्यवहारिक पक्ष हेरेर मानवताका नाताले एक लाख २० हजार रुपैयाँ तिरिदिए पनि बाँकी पैसा तिर्नसक्ने अवस्था स्कुलको नभएको स्कुलका मेनेजर दिनेश बुढाथोकीले बताए । घाइते चालकको लाइसेन्स, मोटरसाइकलको ब्लुबुक तथा मोटरसाइकलको बीमा गरिएको कागजात घाइते पक्षले उपलब्ध गराउन नसकेकाले उपचार खर्च बेहोर्ने अवस्था नभएको उनको दाबी छ । ‘कागजपत्र उपलब्ध गराए भने बीमा रकम दाबी गरेर उपचार खर्च बेहोर्न सकिन्छ ,’ बुढाथोकीले भने, ‘नभए स्कुलले मात्रै तिर्न सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित