स्वस्थानी व्रतकथा, भाग – २७ (चन्द्रावतीले पनि लिईन्, व्रत)

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! तिमी एक चित्त भएर सुन । त्यसपछि ती कपिल गोत्रमा उत्पन्न भएका दुई भाइ ब्राह्मणहरु नवराजका दरबारबाट ल्याएको श्री स्वस्थानी परमेश्वरीको पातीप्रसाद लिएर चन्द्रावती भएको ठाउँमा गए । चन्द्रावतीले पनि ब्राह्मणहरू आएको देखी मलाई पनि केहि ल्याइदियौ कि ? भनी सोधी र ब्राहमणहरूले ‘हे पापिनी ! तँ अति पापिनी रहिछस्, तेरो निम्ति हामीले दरबारमा लज्जित हुनु पर्यो । कसरी भने तँलाई दिन भनी हेर्न जाँदा राजाको भण्डारै सुकिगयो । यति प्रसाद राजमाताले ग्रहण गरून् भनी छुट्याई राखेको रहेछ,ल्याइदिएका छौं लौ ले भनी सुम्पिदिए । त्यो प्रसाद हातमा पर्नासाथ भोकले व्याकुल भएकी चन्द्रावतीले हत्तपत्त खान तयार भई । त्यो देखेर ती ब्राह्मणहरूले – ‘हे पापिनी ! यस्ता अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ, मुख धोई खा, तेरो अवस्था देखेर हामीलाई दया लाग्यो, बरु तँलाई उपदेश दिन्छौ सुन – निरञ्जन, निराकार रूप श्रीस्वस्थानी परमेश्वरीको व्रत गर । त्यसै व्रतको प्रभावले तेरो उद्धार हुनेछ । ब्रह्महत्यादि पाप गरेको भए पनि नाश होला भनी उपदेश गरेर गए ।

अनि चन्द्रावती बडो कष्टले चार हात पाउले टेकी मुख धुन भनी शाली नदीमा पुगी । ऊ नदीमा पुग्नासाथ खोलाको पानी सुकेर बगरमा परिणत भयो । खोलो सुकेको देखी नाना तरहले रोई कराई डिलमाथि आएर अब मुख नधोई खान्छु भनी प्रसाद हातमा लिनासाथ खरानी भयो, त्यो खरानी खाउँ भन्दा ठूलो बतास आई उडाएर लग्यो, यसरी बल्लबल्ल हातमा आएको आहारा पनि फुत्किएपछि चन्द्रावती काटेको रुख ढलेझैं ढलेर भुमिमा पछारिई । यस्तै रीतले अत्यन्त कष्ट पाई पाँच वर्षसम्म शालीनदीका किनारमा ऊ मूर्च्छित अवस्थामा मुढो लडे झैं पछारिइरही । फेरि कुनै समयमा उसलाई चेष्टा भयो र मैले कस्तो अपराध गरिछु भनी अनेक थरिका विषाद गरी दुःखका समुद्रमा डुबेर बस्दी भई ।

यसै क्रमले ठिक पाँच वर्षपछि फेरि पौषशुक्ल पुर्णिमा आयो र श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गबाट अप्सराहरू शाली नदीमा स्नान गर्न आए । स्नान गरिसकी सूर्य नारायणलाई अर्घ्य दिई बालुवाको शिवलिङ्ग बनाई महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले देखी र अप्सराहरूको नजिक गई – ‘तपाईंहरू देवता हौ कि ? मनुष्य हौ ? म पापिनी मुढो लडे झैं कहींकतै चलखेल र हिंडडुल गर्न सक्दिनँ, खान नपाएको पनि निकै दिन भयो । भोकले व्याकुल छु, कोही नजिकमा आउँदैआउँदैनन्, आइहाले पनि कसैले केही दिंदैनन्, मलाई अन्नदान दिनुहोस् ।

म के पापले यस्ती भएँ ? कसरी उद्धार होला ? भन्दी भई । यति चन्द्रावतीले भनेको सुनी अप्सरा भन्दछन् – ‘हे पापिनी । हामी स्वर्गका अप्सरा हौं । आज पोष महिनाको शुक्लपक्षको पूर्णिमा हो । श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्ने दिन, हामी पनि पवित्र शाली नदीमा स्नान गर्न भनेर आएका छौं । तेरो अवस्था देखेर हामीलाई दया लागेर आयो । तँ पनि यही व्रत गर, सम्पूर्ण पाप नाश भई उद्धार होला ।’ अप्सराहरूले श्री स्वस्थानी परमेश्वरीको व्रतअनुष्ठान गर्ने सल्लाह दिएकाले परमेश्वरीको नाम कानमा पर्नासाथ चन्द्रावतीका केही पापहरू पखालिए । उसलाई आफ्नो पूर्ववर्ती जीवनका केही घटनाहरूको स्मरण हुन थाल्यो ।

जीवनमा पहिले बितेका कुराहरूको सम्झना हुन थालेपछि उसले मनमनै विचार गरी – ‘मैले अरु त केही पाप गरेकी थिइनँ, डोलेहरुले श्रीस्वस्थानी परमेश्वरीको प्रसाद भनेर ल्याइदिएका थिए, मैले अहङ्कारले थुथु गरी थुकेर खुट्टाले कुल्ची मिल्काएकी थिएँ, मलाई अवश्य त्यही पाप लाग्यो । यहाँ आइपुगेपछि नदी तर्न लाग्दा डोलिबाट खसेथें, ठिक हो । ती कपिल ब्राह्मणले पनि श्रीस्वस्थानी परमेश्वरीको व्रत गरेस् भनी उपदेश दिएका थिए । आज अप्सराहरुले पनि उसै भने । श्रीस्वस्थानी परमेश्वरी भनेकी ठुली रहिछन् । मनुष्यहरु अहङ्कारले नाश हुँदा रहेछन् । मैले पनि अहङ्कार गर्दा म यो अवस्थामा प्राप्त भएँ । अब मैले पनि आफ्नो पापराशि पखाल्न श्री स्वस्थानी परमेश्वरीको व्रत लिनु पर्दछ, त्यसैले यिनै अप्सराहरूसंग व्रतको नियमका बारेमा सोध्नेछु ।’

यति विचार गरी ऊ पुनः अप्सराहरूतर्फ फर्किई श्री स्वस्थानी परमेश्वरीको व्रतविधि सोध्न थाली – ‘हे अप्सरा हो ! अव मैले पनि श्रीस्वस्थानी परमेश्वरीको व्रत लिने विचार गरें, यस व्रतको विधि केके हो ? केके गर्नुपर्दछ ? यी सबै विधिवत आज्ञा गर्नुहवस् । यति चन्द्रावतीले भनेको सुनी अप्सरा भन्दछन् – ‘हेपापिनी ! आज पौष शुक्ल पूर्णिमा हो । आजदेखि हातगोेडाका नङ काटी स्नान गरी पवित्र भएर एकभक्त रही एकचित्त गरी महीना दिनसम्म नित्य मध्याह्न कालमा श्रीमहादेवको पूजा गर्नू, सके श्रीस्वस्थानी परमेश्वरीको कथा सुन्नू, नसके मनले सम्झिरहनू।

माघशुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय (१०८) अक्षता, अष्टोत्तर सय (१०८) बेलीपुष्प, अष्टोत्तर सय (१०८) पान, अष्टोत्तर सय (१०८) कुड्का सुपारी, अष्टोत्तर सय (१०८) यज्ञसूत्र (जनै) र जात जातका फूल तथा नैवैद्यहरु तैयार पारी आर्सीमा ॐकार लेखी गङ्गाजलले स्नान गराउनू, माला पहिराउनू, धुपदीप नैवेद्य, फलफूल र कस्तुरी, मेवामिष्ठान्न, वस्त्र, भेटी आदि चढाउनू, अनि एकचित्त भएर श्री स्वस्थानी परमेश्वरीको स्तोत्र पाठ, जप, ध्यान गर्नू र अर्घ्य दिनू । त्यसपछि हे ईश्वरी भनी सम्बोधन गरी इच्छित वरदान माग्नू । त्यसपछि प्रसाद झिक्नू र त्यही अष्टोत्तर सय (१०८) मा आठ रोटी, आठ अक्षता, आठ यज्ञसूत्र, आठ कुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनू, पुरुष नभए छोरालाई दिनू, छोरो पनि नभए मित छोरोलाई दिनू, मित छोरो पनि नभए जुन कामनाले व्रत गरेको छ, मेरो फलानो कामना सिद्ध हवस् भनेर गङ्गामा बगाउनू र सय रोटी आफूले फलाहार गर्नू, रात्रीमा जागरण गर्नू । यति गरिसकेपछि तेरो सम्पूर्ण पाप नाश भई इच्छासिद्धि होला । हे पापिनी ! यसमा अन्यथा नमानेस् । अव हामीहरू जान्छौं भनी अप्सराहरू स्वर्ग गए ।

त्यसपछि चन्द्रावतीले अप्सराहरूको उपदेश मानेर शाली नदीमा स्नान गरी एकभक्त रही, एकचित्त गरी श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झिरही । यही क्रमले व्रत गर्दा चन्द्रावतीको पाप घट्दै गयो । शरीरको कुष्ठ रोग पनि बिसेक हुँदै गयो र दिव्य देह भएर आयो । महिना दिन पूर्ण भयो र माघ शुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामाग्री तैयार पारी अप्सराहरू श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्न फेरी शाली नदीमा आए । चन्द्रावतीले अप्सराहरूलाई देखी र तिनका नजिकै गई – ‘हे अप्सराहरू हो ! तपाईंहरूका आज्ञाले पौष शुक्ल पूर्णिमादेखि नित्यस्नान गरेर एकभक्त रही नित्य मध्याह्न कालमा महादेवको पूजा गर्दछु । अब व्रत पूर्ण गर्नलाई सामाग्री केही पनि छैन । कसो गरुँ’ भनी । यति चन्द्रावतीको कुरा सुनी अप्सराहरू भन्दछन् – हे पापिनी ! केही पनि छैन भने नदीबाट बालुवा ल्याई सामाग्री तुल्याई हामीहरूको संसर्गमा पूजा गर । यती सुनी चन्द्रावतीले ‘लौ हुन्छ’ भनी शाली नदीबाट बालुवा ल्याई सामाग्री तुल्याई । श्रीस्वस्थानी परमेश्वरीका व्रतको प्रभावले चन्द्रावतीले तुल्याएको (कल्पना गरेको ) बालुवाको सामाग्री सिद्ध भई तैयार भयो । त्यो देखेर चन्द्रावतीले मनमा आनन्द मानी धन्यधन्य श्री स्वस्थानी परमेश्वरी भन्दै अप्सरासित बालुवाको सामाग्री सिद्ध भएको कुरा सुनाई ।

अप्सराहरूले त्यसरी बालुवाको सामाग्री सिद्ध भएको र तिनको दिव्य देह भएको देखी आश्चार्य मान्दै भने – ‘हे सुन्दरी ! हामी आजसम्म तँलाई पापिनी भनी भन्दथ्यौँ तर अबदेखि तेरो नाम पुण्यवती राख्यौं ।’ यति भनी अप्सराहरूले आफ्नो संसर्गमा राखी चन्द्रावतीलाई विधिपूर्वक व्रत गराए । चन्द्रावतीले पूजा गरिसकी हातमा अर्घ्यपात्र लिई स्तुति गर्न लागी – ‘हे ईश्वरी ! अघि मैले अज्ञानले अहङ्कार गरेर तपाईंको अनेक तरहले निन्दा गरेकी थिएँ, त्यो मेरो अपराध क्षमा गर्नुहोस्, हे लोकेश्वरी ! तपाई कस्ती भने सम्पुर्ण प्राणीका हृदयमा बसी पापपुण्यको साक्षी भइरहेकी, यस्ती तपाईंलाई कोटि कोटि नमस्कार छ । हे परमेश्वरी ! सृष्टि कर्ता पनि तपाईं, एउटा मूर्ति र स्वरूपमा रहे पनि त्रिमूर्ति ब्रह्मा, विष्णु र महेश्वर भई रहेकी यस्ती तपाईं लाई कोटि कोटि नमस्कार छ । हे भगवती ! पृथ्वी, जल, तेज, वायु र आकाश यति पाँच तत्व पनि तपाईं, देवताका देवता पनि तपाईं, अति स्थूल र अति सूक्ष्म पनि तपाईं, यस्ती त्रेलोक्यनाथ तपाईलाई कोटि कोटि नमस्कार छ । हे ईश्वरी ! तपाईंको स्तुति गर्न हजार जिब्रा भएका शेषनाग, सरस्वती र ब्रह्माले पनि नसकेको, म स्त्री जातिले कसरी सकुँली, म पापिनीको पूजाले प्रसन्न भई मलाई यस दुःखका समुद्रबाट पार उतार्नु होस् भनी अर्घ्य दिई । सम्पूर्ण पूजा समाप्त भयो र अप्सराहरूले प्रसाद झिकेर ‘हे पुण्यवती ! अब हामी जान्छौं भनी स्वर्ग गएपछि चन्द्रावतीले शाली नदीका किनारमा तृणको एउटा छाप्रो बनाई श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झेर रात्रीकालमा जाग्राम गरी । प्रातःकाल भयो र शाली नदीमा स्नान गरी अष्टोत्तर सयमध्ये आठ रोटी, आठ अक्षता,आठ पान, आठ कुड्का सुपारी, यज्ञसूत्र सगुनसमेत हातमा लिई ‘हे ईश्वरी ! मेरा पुरुष यहाँ छैनन्, कसलाई दिऊँ? मेरा स्वामी नवराजसित चाँडो भेट होस्’ भनेर शाली नदीमा बगाई दिई । सय रोटी आफूले फलाहार गरी । अनि स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावतीको सबै पाप नाश भई अघिभन्दा पनि दिव्यदेह भयो । त्यो देखेर मनमा आनन्द मान्दै धन्य श्रीस्वस्थानी परमेश्वरी भनी बारम्बार प्रणाम गर्दी भई ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां चन्द्रावती-कृत-श्रीस्वस्थानीव्रत-वर्णनं नामाष्टविंशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

 

प्रतिक्रिया

सम्बन्धित