स्वस्थानी व्रतकथा, भाग – २६ (भोजपछि भण्डार रित्तियो)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तहाँपछि डोलेहरूले चन्द्रावती रानीलाई भने – ‘हे महारानी ! स्वर्गबाट अप्सराहरू आएर स्वास्थानी परमेश्वरीको व्रत र पूजा गर्न लागेको देख्यौं र तिनीहरूकै संसर्गमा हामीले पनि पूजा गर्ने भयौं, जसले गर्दा आउनमा केही विलम्ब हुन गयो, क्षमा बक्सियोस् । हजुरका निम्ति पनि पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद ल्याई दिएका छौ, ग्रहण गरिबक्सियोस् ।’ यति भनी डोलेहरूले महारानी चन्द्रावतीलाई सम्मानपूर्वक श्री स्वस्थानी परमेश्वरीको फूलपाती र प्रसाद दिए । डोलेहरूका कुरा सुनेर चन्द्रावतीले रिसले राताराता आँखा पारी दाह्रा किट्तै ठूलो आवाज निकाली गर्जंदै भन्न लागिन् – ‘हे पापी डोलेहरू हो ! मलाई यहाँ थन्क्याएर भोक लागेको निहुँ गरी यतिका बेरसम्म कहाँ गएर के को पूजा गर्न लाग्यौ ? सेवकले गर्ने कर्तव्य यिनै हुन् ? त्यो पूजाले तिमीहरूलाई के दिन्छ ?

श्री स्वस्थानी भनेकी कुन देवी हो, यस्तो नाम मैले आजसम्म सुनेकी पनि थिइँन । त्यस्ती नामै नसुनेकी देवीले कसको गर्न सक्छे र मलाई तिमीहरूले अटेर गर्यौ ? आज एक्ली छु अनि वनमा छु र मात्र, नत्र म तिमीहरूलाई नमारी छाड्ने थिइँन ।’ यति भनी डोलेका हातबाट उनीहरूले आफ्ना निम्ति ल्याएको प्रसाद खोसी थुःथुः गरी गोडाले कुल्ची फाली दिईन् । विचरा ती अनाथ डोलेहरूले रानीको त्यस्तो नराम्रो डरलाग्दो बेहोरा देखी डराउँदै आँखाभरि आँसु पारी केही पनि भन्न नसकी श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झी डोली बोकी आफ्नो बाटो लागे । जाँदाजाँदै लावण्य देशका निकट पुग्न लागे । त्यहाँ छेवैमा शाली नाम गरेकी नदी बग्थिन् । डोली बाकेका डोलेहरूले ती नदीको पुल आधा जसो तरिसकेका मात्र थिए, एक्कासी ठूलो चँदुवा टाँगे जस्तो मेघ उठी मुसलधारे पानी पर्न लाग्यो, साथै हुरीबतास पनि आई नदीको पुल भाँचियो । चन्द्रावतीका अगुवा, पछुवा र डोलेसमेत शाली नदीमा झरी मर्दा भए ।

श्री स्वस्थानी परमेश्वरीका पूजाका प्रभावले डोलेहरू भने शिवरूप भई कैलाशमा गएर रहँदा भए । जुन मनुष्यले श्री स्वस्थानी परमेश्वरीको निष्ठापूर्वक व्रत गर्ला, त्यसले यी डोलेहरूले प्राप्त गरें झैं उत्तम गति पाउला । चन्द्रावती चाहिं नदीका जलभित्र जीवित अवस्थामा नै रहिरहिन् । चन्द्रावती शाली नदीमा झरेका दिनदेखि ती नदीको प्रवाह पनि बन्द भयो । यसरी नदीको बग्ने वेग नै अटल भएर स्थिर अवस्थामा रहेको देखी माझीहरू एक अर्कामा भन्न लागे – ‘यो के अनर्थ भयो, के आश्चर्य हुदैछ ? यो नदीमा कुनै विशाल गोही अथवा नाग आएर पानी छेकी दिएको हो कि, यो देशमा कुनै उत्पात हुने कुचेष्टा पो भएको हो ?’ यस्ता अनेक तर्कना गर्दै माझीहरू मिली राजा छेउ आई यो कुरा जाहेर गरौं भनी राजदरबार पुगेर बिन्ती गरे – ‘हे महाराज ! शाली नदी बग्न छाडिन् । यस्तो भएको हामीले अघि देखेका पनि थिएनौ, सुनेका पनि थिएनौ, आजै देख्नु परेको हो । प्रजावत्सल ! हे राजन् ! यो नयाँ कुरा पर्यो, विचार गरिबक्सियोस् ।’ माझीहरूका कुरा सुनी राजा नवराजले मन्त्रीलाई डाकी माझीहरूबाट सुनेको सारा वृत्तान्त कही हुकुम भयो – ‘मन्त्री ! तिमी आफैं नदी किनारामा गई माझीहरूलाई आदेश गरी चेकजाँच गर ।

जलभित्र कुनै जन्तु छ  कि ? वा अरु नै कारणले पानीको वेग रोकिएको हो, जाल हाली खोजी गर ।’ राजाको हुकुमअनुसार मन्त्रीले कर्मचारीलाई आदेश दिए । माझीहरूले जाल हानी तान्दा कति दिन अघिदेखि नदीका जलभित्र डुबेर रहेकी चन्द्रावती जालमा अल्झिएर आईन् । चिन्न पनि नसकिने, शरीरमा कुष्ठरोग उब्जिएकी र हातपाउ छिनेकी, होसचेत केही पनि नभएकी, हिलामा पुरै मुछिएको, कुहिएको रुखको मूढो जस्तो, मानिस हो वा अरु कुनै जन्तु हो थाहा नपाइने शरीर भएकी, यस्ती कुरूप भएकाले माझीहरूले उक्त मुढोजस्तो शरीर भएकी चन्द्रावतीलाई नदीका एक किनारामा फ्याँकी फेरि आफै जलभित्र पसी डुबुल्की मार्दै खोज्दै गर्नलागे । यसरी धेरैबेर खोजी गर्दा पनि केही पाउन सकेनन् र हार भई राजासमक्ष सबै कुरा बिन्ती चढाए । नवराज राजाले यी सबै कुरा सुनिसकेपछि शाली नदीका किनारामा पुगी प्रणाम गरेर ‘हे गङ्गे ! तपाईं किन आफ्नो प्रवाह रोकी स्थिर रहनुभयो ? मबाट जानी/नजानी हुन गएका कुनै अपराध भए क्षमा पाऊँ, मदेखि प्रसन्न भई दिनुहोस्’ भनी हातमा अर्घ्य लिई नवरत्न, पारो, गाईको दूध र दहीसमेत अर्घ्य दिए । यसरी राजाबाट अर्घ्य दिनासाथ शाली नदी सललल बग्न थालिन् । त्यो देखी राजा नवराज पनि हर्ष बढाईं गर्दै लावालस्करका साथ दरबारतिर सवारी भए ।

नदीका एकातिर मूढोजस्तो भएर लडी रहेकी चन्द्रावती भने छिनमा चेष्टा र छिनमा मूर्च्छा हुने, छिनछिनमा भोक तिर्खाले आकुलव्याकुल हुनेजस्ता अनेक बाधा र महाकष्टका साथ रहँदी भईन् । तिनलाई एकदिन भोकले अति नै बाधा गर्यो र खानेकुरा अरु थोक केही नपाउँदा भोक खप्न नसकी माटो खाउँ भनी हातमा लिईन्, तर त्यो माटो ढुङ्गो हुन गयो, त्यो ढुङ्गो नै खाऊँ भन्दा हड्डी हुन गयो, हाड नै खाउँ भन्दा खरानी भयो, खरानी नै भएपनि खाउँ भन्दा बतास आई उडाई लगिदियो । तब चन्द्रावतीले आफैलाई धिक्कार्दै मूर्च्छा परेर लडिन् । यसरी श्री स्वस्थानी परमेश्वरीके अवहेलना र निन्दा गरेकी हुँदा उनले नाना प्रकारको दुःख सहन गर्न बाध्य हुनुपर्यो । उता राजाले आफ्ना राज्यमा आयोजना गरेको बृहद् भोजमा निमन्त्रणा गरिएकामध्ये नवपुरवासी कपिल गोत्री दुई ब्राह्मण पनि सो भोजमा जान भनी त्यही बाटो हुँदै आएको चन्द्रावतीले देखिन् र ‘तपाईंहरू को हुनुहुन्छ अनि अहिले कहाँ जान लाग्नुभएको हो ?’ भनी सोधिन् ।

ती ब्राह्मणले पनि आफू कपिल गोत्रका ब्राह्मणहरू भएको र लावण्य देशका राजाबाट दिइन लागेको ठूलो भोजको निमन्त्रणामा सामेल हुन जाँदै गरेको कुरा बताए । त्यो कुरा सुनी चन्द्रावतीले भनिन् – ‘हे ब्राह्मणदेवता हो ! मेरो शरीर र अवस्था देखी हाल्नु भयो, त्यसमाथि पनि निकै दिन हुन लागे, मैले केही पनि खान पाएकी छैन, तपाईंहरू राजाको भोजमा जाँदैहुनुहुँदो रहेछ, म पापिनीका निम्ति पनि केही खाने कुरा मागेर ल्याई दिनु भए तपाईंहरूलाई धर्म होला । विरूप अवस्थामा मूढो झैं बगरमा लडिरहेकी चन्द्रावतीका कुरा सुनी ब्राह्मणले भने – ‘हे पापिनी ! अहिले हामी यसै हो भन्न सक्तैनौं, किनभने राजदरबारको कुरा के हुन्छ ? कसो हुन्छ ? के विश्वास, माग्ने मौका मिलेछ र पाइएछ भने ल्याउँला, भरसक हामी उपाय गर्ने छौ, भर परेर आशामा न पर्खिएस् ‘ । यति भनी ती ब्राह्मणहरूले आफ्नो बाटो लिए ।

नवराजका राजदरबारका आँगनमा ठूलो भोज लाग्यो । तोकिएका तिथिमा सबै आमन्त्रितवर्ग, ब्राह्मणहरू, आशामुखीहरूले परिपूर्ण भोज पाए । राजाले मानमर्यादा अनुसार भोजन गराई ब्राह्मणहरूलाई दक्षिणा पनि दिए । भोजपछि नवराजको गुण गाउँदै, आशीर्वाद दिंदै सबैजना आफ्नाआफ्ना घरतर्फ जान थाले । तर नवपुरबाट आएका दुई भाइ कपिल ब्राह्मण भने बगरमा लडेकी स्त्रीका कुरा सम्झिएर टक्क अडिए ‘केही नलिई जाऊँ भने त्यो पापिनी आशामा बाँची रहेकी होली, लिएर जाउँ भने कोसित मागेर लगिदिने ? के भनेर कसरी माग्ने ?’ यस्तो विचार गरेर कहिले यता कहिले उता कहिले भोजनशाला र कहिले भोजन गरेका ठाउँतिर जाने र आउने गर्न लागे । कहाँ के हुँदैछ ?, कसो हुदैछ ?, को भोको छ ?, कसले खान पायो ?, कसले पाएन ? भनी चारैतिर नजर दिंदै गरेकी राजमाता गोमाले अलिक परबाट ती ब्राह्मणहरूतिर नियालेर हेरिन् र ‘भण्डारे हो ! ती ब्राह्मणहरूले खान पाएनन् कि, दक्षिणाबाट सन्तुष्ट भएनन् ? झट्टै सोधेर के भएको बुझ’ भनी दरबारका भण्डारेहरूलाई अह्राईन् ।

भण्डारेले पनि ‘हे ब्राह्मणदेवता ! दानपानमा कुनै त्रुटि भयो कि के पर्यो ? राजमाताबाट सोधी बक्स्या छ’ भनी सोधे । यो सुनी ब्राह्मणहरू भन्दछन् – ‘हे भण्डारे जी ! महाराजका कृपाले हामीले इच्छापूर्वक भोजन गरी तृप्त भएर दक्षिणा पनि प्राप्त गरी सन्तुष्ट भयौं । हामी यहाँ पर्खिएको कारण के भने हामीहरू यता आउँदै गर्दा शाली नदीका तिरमा शरीरभरि कुष्ठी उब्जिएकी, हातपाउ झरेकी एउटी विरूप स्त्रीले हामीलाई देखेर ‘ब्राह्मण हो ! तिमीहरू भोजनबाट फर्किंदा मेराखातिर पनि केही खाने पदार्थ ल्याई दिनू, म पाँच दिनकी भोकी छु’ भनेकी थिई । हामी फिर्ने बाटो हेरेर त्यो आशा गरिरहेकी होली । त्यो कुरा भन्न नसकेर हामी पर्खिएका हौं । ब्राह्मणहरूका कुरा सुनी भण्डारेले राजमातालाई यथार्थ कुरो बताइदिए ।

यो कुरा सुनी ‘ब्राह्मणहरू ले जति बोक्न सक्छन् । त्यति खाने कुरा दिएर पठाऊ’ भनी राजमाता गोमाबाट भण्डारेलाई आदेश भयो । आज्ञा पाई भण्डारेहरू खाने पदार्थ लिन भण्डारमा पुग्दा त्यहाँ भएका सारा वस्तु रित्तिएरको देखी आश्चर्य हुँदै आएर गोमासित – ‘हे राजमाता ! भण्डारमा त केही पनि छैन, अब ब्राह्मणलाई के दिनू’ भनी बिन्ती गरे । भण्डारेका कुरा सुनी गोमा दगुरेर भण्डारमा गएर हेर्दा केही नदेखी ‘आफूलाई भनी राखेको भाग दिई हाल’ भनी आज्ञा गरिन् । भण्डारेले पनि राजमाताका निम्ति भनी ठीक पारेको भोजन लगी कपिल ब्राह्मणहरूसित – ‘हे ब्राह्मण हो ! के ले हो कुन्नि राजाको सम्पूर्ण भण्डार नै रित्तियो र ठूलो आश्चर्य आई लाग्यो ।

यो राजमातालाई भनी राखेको भाग चाँहि बाँकी रहेको रहेछ र त्यही लिई आएँ, यो नै लगेर त्यो स्त्रीलाई दिनुहोला’ भनी सुम्पिदिए । ती दुबै ब्राह्मणहरू अति शर्मका साथ त्यो खाने कुरा लिई दरबारबाट बाहिरिए । ती ब्राह्मणहरू निस्कना साथ त्यो राजदरबारभित्र अघि जोजो जहाँजहाँ थियो त्यस्तै गरी फेरि भरिपूर्ण भयो । हे अगस्त्य मुनि ! ‘श्री स्वस्थानी परमेश्वरीको निन्दा गर्नेको पापका प्रभावले त्यत्रो राजभण्डार नै रित्तिन गयो । ती निन्दा गर्ने चन्द्रावतीका दुःख कष्टहरू मैले तिमीलाई सुनाएँ । आउने अध्यायमा उनै श्री स्वस्थानी परमेश्वरीका कृपाले चन्द्रावतीको सारा पाप नाश भई सङ्कटमुक्त भएको कथा पनि सुनाउनेछु ।’ भनी कुमारजीबाट आज्ञा भयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां चन्द्रावती-कष्ट-वर्णनं नाम षड्विंशोऽध्यायः ।।

ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्

दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।

काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।

देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।

अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।

निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।

तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।

तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता

या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।

कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।

करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।

अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।

समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।

खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।

चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।

सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।

ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

 

तपाईको प्रतिक्रिया