विराटनगरमा नेकपा ओली समूहको जनसभा, यस्तो छ ओलीकाे सेड्युल

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) बिहान प्रदेश १ को राजधानी विराटनगर आउँदै छन् । गत पुस ५ गते संसद विघटन गरेर निक्कै आलोच्य कदम चालेका ओली आफ्नो पक्षले आयोजना गर्ने आमसभामा सहभागी हुन आउने पक्का भएको छ । सर्वत्र आलोचना र विरोध भइरहेका बेला ओली समूहले आफ्नो पक्षमा जनमत देखाउन र आगामी वैशाख १७ र २७ गते हुने भनेर घोषणा गरिएको आमनिर्वाचनको सन्देश दिन जनप्रदर्शन र सभाको आयोजना गरिरहेको छ । ओलीले विभिन्न कार्यक्रममार्फत संसद विघटन गर्नुपर्ने कारण पनि प्रष्ट पार्ने प्रयास गरिरहेका छन् ।

विराटनगरमा पनि त्यसकै लागि शक्ति प्रदर्शन र आमसभा गरिँदै छ । विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होम अगाडिको खाली मैदानमा कार्यक्रम हुने पक्का भइसकेको छ । सभाअघि विराटनगरका विभिन्न ठाउँबाट शक्ति प्रदर्शन गरिने भएको छ ।

ओली विराटनगरमा हुने आमसभाको पनि प्रमुख अतिथी एवं मुख्य वक्ता हुन् । आमसभालाई सम्बोधन गर्न उनी बिहान ११ बजेपछि श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौंबाट विराटनगर विमानस्थल ओर्लने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो । केही बेर नेता कार्यकर्तासँग भेटघाट गरेपछि उनी १२ बजे आमसभा स्थलमा पुग्ने कार्यक्रम छ ।

ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार विराटनगर विमानस्थलमा ओर्लिएपछि लगभग एक घण्टाजति प्रधानमन्त्री ओलीले होटल एसियाटिकमा आराम गर्ने छन् । होटलमा नै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतका आफू पक्षीय नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची रहेको बताइएको छ ।

ओलीले संसद विघटन गरेपछि असन्तुष्ट बनेर आन्दोलनका लागि सडकमा निस्किएको नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका प्रदेशसभा सदस्य (प्रदेश सांसद)ले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन राईले दाहाल–समूहलाई आग्रह गरिरहेका छन् । प्रस्ताव फिर्ता नभए प्रदेशसभा भङ्ग हुनसक्ने संकेत राईले गरेपछि प्रदेशको राजनीतिमा पनि थप उतारचढाव आउनसक्ने सम्भावना छ ।

केन्द्रीय राजनीतिको प्रभावका कारण पछिल्लो समय प्रदेशको राजनीति पनि थप पेचिलो बन्दै गइरहेको छ । त्यही भएकाले प्रदेशको पछिल्लो राजनैतिक अवस्था, सत्ता समीकरण र भविश्यमा आउनसक्ने सम्भावित अवस्थाका बारेमा मुख्यमन्त्री राई र आफू पक्षीय नेताहरुसँग छलफल गर्ने ओलीको तयारी रहेको स्रोतले बतायो । संसद विघटनपछि प्रदेशमा पनि राजनैतिक असर परिरहेका बेला ओलीले विराटनगर आएर आफ्ना पक्षका नेताहरुसँग गर्न लागेको भेटघाट र छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘होटलमा केही समय आराम र भेटघाटपछि प्रधानमन्त्री ओली सभालाई सम्बोधन गर्न आउनु हुने छ,’ नेता ढकालले भने, ‘होटलमा नेताहरुसँग सामान्य भेटघाट मात्रै भएकाले अरु विषयमा कुनै कुराकानी वा छलफल हुने जानकारी आएको छैन ।’ उनका अनुसार आमसभा सकिएपछि प्रधानमन्त्री ओली दिउँसो ४ बजे विराटनगर विमानस्थल हुँदै जहाजमार्फत काठमाडौं फर्कने कार्यक्रम तय भएको छ ।

विराटनगरमा हुने आमसभालाई ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, मुख्यमन्त्री राई लगायतले सम्बोधन गर्ने कार्यतालिका रहेको नेताहरुले बताएका छन् । आमसभामा सहभागी हुन गृहमन्त्री थापा बिहान ९ बजेसम्ममा बुद्ध एयरको जहाजमार्फत विराटनगर आइपुग्ने कार्यक्रम रहेको सुरक्षा स्रोतले बतायो ।

प्रधानमन्त्री र गृहमन्त्री एउटै कार्यक्रममा सहभागी हुन आउने भएपछि विराटनगर विमानस्थलदेखि सभास्थल एवं विराटनगर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्था कडा पार्न, कुनै अप्रीय घटना हुन नदिन र स्थितिलाई आफ्नै काबुमा राखेर नियन्त्रणभन्दा बाहिर जान नदिन सुरक्षाका सबै अङ्गलाई परिचालन गरिएको स्रोतले बतायो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले शनिबार बिहान विराटनगर आएर बेलुका प्रधानमन्त्री काठमाडौं फर्कने सर्कुलर आएको जानकारी दिए । उनले सुरक्षा व्यवस्था थप मजवुत बनाएर लगिएको पनि बताए ।

प्रधानमन्त्री ओली विराटनगर आएर मुख्यमन्त्री राईसहित केही नेता कार्यकर्तालाई भेटेर सम्बोधन गर्न सभामा उपस्थित हुने छन् । सभा सकिएपछि उनी काठमाडौं फर्कने छन् । त्यसबाहेक उनी उपस्थित भएर गर्ने अरु कुनै कार्यक्रम तय नभएको र प्रधानमन्त्रीको अरु थप केही कार्यक्रम नरहेको नेकपा नेता ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित