अनुसन्धानका एसपीकै फेसबुक ह्याक गरी रकम ठगी

इनरुवा / राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक गरी रकम ठगी भएको पाइएको छ ।
दाहालको आइडीको प्रयोग गरी मोबाइल बैंकिङको माध्यमबाट रकम ठगी गरेको पाइएको हो । एसपी दाहालको फेसबुक म्यासेन्जरबाट पत्रकार सँग रकम माग गरेको भेटिएपछि फेसबुक ह्याक भएको विषय बाहिरिएको हो । नगेन्द्र दाहालको आइडीबाट इनरुवाका पत्रकार अमर काफ्लेको म्यासेन्जरमा एघार हजार एक सय रुपैंया साँझ सम्म फिर्ता गर्ने भनि पठाउन भनिएको थियो ।

म्यासेन्जरको चाटमा संगत आङबुहाङको नाममा नबिल बैंकको ०१६१००१७५१३६०६ खाता नम्बरमा रकम पठाउन भनिएको थियो । रकम पठाएको फोटो समेत पठाउन काफ्लेलाई भनिएको थियो । उक्त म्यासेजको विषयमा शंका लागि पत्रकार काफ्लेले एपसी दाहालसँग फोन गरी बुझेका थिए । सो क्रममा एसपीले आफुले कोही कसैलाई सो व्यहोराको म्यासेज नपठाएको भन्दै आफ्नो फेसबुक ह्याक भएको हुन सक्ने आशंका जताएका थिए । त्यस लगत्तै स्वयं एसपी दाहालले सामाजिक सञ्जालमा आफ्नो फेसबुक ह्याक भएको व्यहोरा उल्लेखित स्टाटस लेख्दै फोन सम्पर्क गर्नुहोला भनेका छन् ।

घटना सँग समवन्धित रहेर ह्याकरको खोजी थालिएको अनुसन्धान उप निर्देशक (एसपी) दाहालले बताए । उनले यसअघि पनि इसेवा र मोबाइल बैकिङका नामबाट रकम ठगी भएको घटना बाहिरिएकाले ठगी कार्यमा गिरोहनै सकृय रहेको हुन सक्ने बताए । एसपी दाहालको आइडीबाट मोबाइल बैंकिङ मार्फत रकम माग गरेको भरमा केहि व्यक्ति ठगीमा समेत परिसकेको पाइएको छ । दाहालले कोही कसैलाई म्यासेजको भरमा परी रकम नपठाउन भनेका छन् । उनले शंका लागेमा आफुलाई सम्पर्क गरी जानकारी गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित