स्वस्थानी व्रतकथा, भाग – १ (सृष्टिक्रम तथा ब्रह्माण्ड वर्णन)

कुमारजी आज्ञा गर्नुहुन्छ – हे! अगस्त्य मुनि, सृष्टिको क्रम र ब्रह्माण्डको वर्णन जुन छ, उक्त पवित्र कथालाई श्री स्वस्थानी परमेश्वरीको महात्म्यका आधारमा म तिमीलाई सुनाउँछु, एकाग्र भई सुन । यो अनन्तकोटि ब्रह्माण्डका नायक सृष्टिकर्ता परमात्माले आफूलाई ३ देवताका रूपमा प्रकट गर्नुभयो । पहिले ब्रह्मा सृष्टि गर्न , विष्णु पालन गर्न र महेश्वरलाई संहार गर्न बन्नुभयो । त्यसकारण उनै परब्रह्मका इच्छाविना सृष्टि, स्थिति तथा संहार कुनै पनि केही हुन सक्दैन र उहाँकै इच्छाअनुसार यो संसारको सृष्टि, स्थिति तथा संहारका अनन्तचक्र चलिरहन्छन् । ब्रह्मा, विष्णु र महेश्वरमध्ये विष्णु र महेश्वरको आयुको कुनै प्रमाण छैन ।

ब्रह्माको सय वर्षको आयु हुन्छ । उक्त सय वर्षको आयुमध्ये एकदिनमा विहान सृष्टि हुन्छ, दिउँसोदेखि रात नपरेसम्म स्थिति हुन्छ भने रात परेर निदाएको समय संहारको समय हो । सत्य, त्रेता , द्वापर तथा कलि काल विहान, दिउँसो , साँझ र रात जस्तै हुन् । अनि ब्रह्माको सयवर्षमा महाप्रलय हुन्छ । फेरि परमात्माले अर्को ब्रह्मा सृष्टि गर्नुहुन्छ र यसैक्रमले अनन्तकालसम्म सृष्टिकार्य चलिरहन्छ । ब्रह्मा, विष्णु र महेश्वरमा विष्णु सत्व , ब्रह्मा रजो तथा महेश्वर तमो गुणका प्रतिनिधि हुन् । सृष्टिका लागि सबभन्दा पहिले पञ्चमहाभूत तत्त्वहरू मन, बुद्धि , शब्द, रूप , रस, गन्ध, काम, क्रोध , लोभ, मोह , मद , मात्सर्य आदि सृष्टि गरिसकेपछि मात्रै प्राणिको सृष्टि हुन्छ । त्यसैले यी कुराहरू सम्पूर्ण प्राणिमा व्याप्त हुन्छन् । सृष्टिका तत्त्वहरू कुनै पनि सजीव र निर्जीव हुँदैनन् । सबै सजीव नै हुन्छन् । विज्ञानले निर्जीव भनेका कुराहरू लगायत सबै कुराहरूमा ब्रह्मा, विष्णु र महेश्वरहरू इलेक्ट्रोन, न्युट्रोन तथा प्रोटोन सरी घुमिरहेका हुन्छन् अनि यसरी घुम्नेक्रम सकिँदामात्र उक्त प्राणिको अन्त्य हुन्छ र सृष्टिका चक्रहरू पारगरिसकेपछि प्रलयको समयमा अन्त्य हुन्छ ।

एउटा अण्डामा भित्री, बाहिरी आवरणहरू भएजस्तै पृथ्वीलगायत ब्रह्माण्डमा पनि यस्तै आवरणका चक्रहरू हुन्छन् । त्यस्तै नवजातवालक मानवको शरीरमा पैदा हुँदा सम्पूर्ण चक्र पार गरिसकेपछि मानव वालक बने जसरी पृथ्वीमा सृष्टि हुँदा सरिसृप, उभयचर हुँदै मानवसम्म भएर कालान्तरपछि सृष्टिको विकास भएको हुन्छ । यो क्रम प्रत्येक मानवको गर्भ प्रक्रियामा अहिलेसम्म पनि उदाहरणका रूपमा चलिरहेको हुन्छ र यो सृष्टिकै प्रमाण हो । त्यस्तै अण्डदेखि ब्रह्माण्ड यी दुई सङ्ख्याहरू मात्रै हुन् यस्ता उदाहरणका सङ्ख्याहरू अनन्त हुन्छन् । त्यस्तै प्रकृति र पुरुष भएर सृष्टिको बृहत्तर सङ्ख्या बृद्धि भएको हुन्छ । चाहे स्त्री पुरुष, चाहे बीज माटो, चाहे आकर्षण विकर्षण , चाहे क्रिया–प्रतिक्रिया यीसबै सृष्टिकै मूलभूत प्रक्रिया हुन् र परमात्मामा अनन्त पनि अटाउँछन् ।

परमात्मा एक प्रकारले सबैभन्दा सूक्ष्म पनि हुन् तथा सबैभन्दा विशाल पनि हुन् । यसका लागि परमात्माले अनन्त आकाश उदाहरण दिएका छन् । त्यसैले यो परमात्माको परिभाषाको वर्णन गर्न कोटिकोटि ब्रह्मा, विष्णु महेश्वरले पनि सक्दैनन् । त्यसैले जतिजति ब्रह्माण्ड छन् त्यतित्यति ब्रह्मा, विष्णु र महेश्वर हुन्छन्, त्यसैले परमात्मालाई कसैले आँक्न सक्दैनन् ।

यो सृष्टिक्रम भनेको निदाउँदाखेरी जतिपनि हामी देख्छौं पछि ब्युँझदा विलय भए जसरी मृत्युपछिको जीवनमा ब्युँझदै ब्युँझदै जान्छौं । निदाएको अवस्थामा सुख, दुःख, हर्ष ,विस्मात यी यावत् जति प्राप्ति हुन्छन्, त्यसलाई ब्युँझदा प्राप्त गर्न नसकेजस्तै मृत्युपछि पनि अर्को जन्ममा त्यस्तै हुन्छ । त्यसैले यो संसार सुखदुःखादि सपना झैं अनित्य छ । त्यसैले यी सांसारिक कुराहरू सब मनका झमेला मात्रै हुन् । मूल कुरो परमात्मा जान्नु हो । त्यसैले विवेकी प्राणीको एकमात्र लक्ष्य मन, वचन र कर्मले ज्ञानद्वारा परमात्माको कार्यमा सघाउनु हो ।
आगामी दोस्रो अध्यायमा पद्य कल्पको वर्णन सुनाउनेछु ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां ब्रह्माण्डवर्णनं नाम प्रथमोऽध्यायः ।।
ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

प्रतिक्रिया

सम्बन्धित