प्रधानमन्त्री ओलीलाई कारबाही गर्नुपर्छः नेता भट्टराई

पोखरा / जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मालाई कारबाही गर्नुपर्ने बताएका छन्। पोखरामा जनता समाजवादी पार्टी नेपाल, गण्डकी कमिटिले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेकोले उनलाई कारबाही गर्नु पर्र्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको आरोप लगाउँदै अध्यक्ष भट्टराईले ओली बिरुद्धको लडाईमा अब सबै एक हुनुपर्नेमा जोड दिए । उनले भने, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारवाही भए जस्तै जनताले पनि अब ओलीलाई कारबाही गर्नुपर्छ, प्रधानमन्त्री ओलीलाई कारबाही गर्न कांग्रेसले पनि खुट्टा कमाउन हुँ दैन् ।”

ओलीले निर्वाचनमा आफैं हार्ने गरेर निर्वाचन गराउनेमा आफूहरूले विश्वास गर्न नसक्ने बताएका नेता भट्टराईले तोकिएको मितिमा निर्वाचन नहुने दाबी गरे । अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने बताएका अध्यक्ष भट्टराईले यो संविधान नेपाली जनता आफैंले बनाएकाले प्रतिनिधिसभा विघटन हुन नसक्ने दाबी गरे ।

२९ वर्ष लडेर ल्याएको लोकतन्त्रलाई धरापमा पार्ने प्रधानमन्त्री ओलीको कदमबिरुद्ध अन्तिम घडिसम्म र संसद पुनःस्थापना गर्न संघर्षका लागि एकजुट हुन अध्यक्ष भट्टराईले आग्रह गरे । संविधान अपूर्ण भए पनि जोगाउनु सबैको जिम्मेवारी भएको बताउँदै अध्यक्ष भट्टराईले ओलीविरुद्धको लडाइँमा हिम्मत हार्न नहुने जनाए । सबैको अधिकार समावेश भएको संविधान नभएको उनले टिप्पर्ढी गरे ।

प्रधानमन्त्री ओलीले न्यायाधीशलाई धम्क्याएर आफ्नो दबाबमा पार्न खोजेको उनको आरोप थियो । उनले भने, “जुन हिसाबले ओलीले आसेपासेलाई नियुक्त गर्नुभएको छ र प्रधानन्यायाधीशलाई धम्क्याउनु भएको छ, यहाँ के हुन्छ भन्न सकिने अवस्था छैन, यसमा अब सबै सर्तक हुनुपर्ने अवस्था आएको छ ।” जनता समाजवादीका वरिष्ठ नेता असोक राई, सरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायतले प्रधानमन्त्री ओलीको कदम नसचिएसम्म आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए । पोखरामा प्रर्दशन भएको कार्यक्रममा समाजवादीका नेता तथा कार्यकर्ताले केपी तिम्रो पाराले दुःख पाए साराले, जननिर्वाचित प्रतिनिधि सभा सुचारु गर लगायतका नारा लगाउँदै प्रधानमन्त्री ओलीको कदम बिरुद्ध सडकमा उत्रिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित