संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकारको माग राख्दै राष्ट्रिय सभामा विरोधको सूचना दर्ता

काठमाडौं / राष्ट्रिय सभामा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै संसद सचिवालयमा विरोधको सूचना पेस भएको छ । राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग गर्दै विरोधको सूचना पेस गरेका हुन् ।

कानूनमा उल्लेख भएअनुसार बिडारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अस्वीकार गर्न माग राखेका हुन् । कुनै अध्यादेश पेस भएपछि सो अस्वीकार गरियोस् भनी राष्ट्रियसभा सदस्यहरुले विरोधको सूचना पेस गर्न पाउने कानूनी व्यवस्था रहेको छ । गत मंसिर ३० गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश जारी गरेकी थिइन् । त्यस्तै गत शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा सरकारले उक्त अध्यादेश पेस गरेको थियो ।

‘संविधानको धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्त्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति(पदाधिकारीबारे निर्णय गर्ने अवस्थामा तात्त्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमै प्रहार हुने भएकाले राष्ट्रियसभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव’ राष्ट्रियसभा सदस्य बिडारीले पेस गरिएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित