परिवारमा कोरोना भए पनि परीक्षणको दायरामा नल्याइएकी विराटनगरकी एक वृद्धाको मृत्यु

विराटनगर / परिवारका सदस्य कोरोना भाइरसबाट संक्रमित हुुँदा पनि परीक्षणको दायरामा नल्याइकन लुकाइएकी विराटनगरकी एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ की ६२ वर्षीया वृद्धाको शनिबारराति मृत्यु भएको वडाअध्यक्ष विश्वनाथ भगतले बताए । मृत्यु भएपछि आइतबार बिहान महानगरको टोलीले परीक्षणका लागि वृद्धाको स्वाब संकलन गरेको छ । उनको हिस्ट्री पनि पत्ता लगाउने काम भइरहेको महानगरले जनाएको छ ।

महिलाको मृत्यु कोरोनाभाइरस संक्रमणका कारण भए÷नभएको बारे रिपोर्ट पर्खनु पर्ने महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलीले बताए । ती वृद्धाको परिवारका एक सदस्य ४५ वर्षीय पुरुषको यसअघि नै कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । वृद्धा यसअघि संक्रमणका कारण मृत्यु हुने पुरुषकी आमाकी बहिनी सानीआमा रहेको वडाअध्यक्ष भगतले बताए ।
कोरोना कारण पुरुषको मृत्यु भएपछि ‘कन्ट्याकक्ट ट्रेसिङ’ गरेर परिवारका सदस्यलाई परीक्षणको दायरामा ल्याइए पनि परिवारले ती वृद्धालाई भने लुकाएको पाइएको उनको भनाइ छ । भगतकाअनुसार परिवारका सबै सदस्यलाई परीक्षणको दायरामा ल्याइए पनि ती वृद्धालाई परिवारकै सदस्यले लुकाएर स्वाब संकलन गर्नबाट बञ्चित गराएको पाइएको छ । उनको मृत्यु भएपछि घटना बाहिर आएको हो ।

पुरुषको मृत्यु भएपछि महानगरको टोलीले परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गराएको थियो । त्यस क्रममा वृद्धा भने छुटेको पाइएको छ । वडा अध्यक्ष भगतका अनुसार हाल वृद्धाको पारिवारिक नाता सम्बन्धका छ जनामा संक्रमण देखिएको छ । संक्रमित सबैको मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनको भनाइ छ ।

भगतकाअनुसार वृद्धामा मधुमेह र मृगौलाको समस्या रहेको पाइएको छ । मृतकका दुई छोरा र एक छोरी छन् । स्वाब परीक्षण गराउँदा दुवै छोराको रिपोर्ट पोजेटिभ आएको छ । ती मध्ये एक जना संक्रमित छोरा सम्पर्कविहीन रहेको महानगरपालिकाले जनाएको छ । छोरीको भने बिहे भइसकेको र परिवारबाट अलग्गै रहेको पाइएको छ । विराटनगर–९ को गुद्री बजारमा शब्जीदेखि किराना पसलसम्म अत्याधिक भीडभाड हुने गरेको र मानिस तथा सवारी साधनको आवतजावत हुने गरेका कारण संक्रमितको संख्या बढेको भगत बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित