कोरोनाका कारण विराटनगरको कोशी अस्पतालमा थप एकको मृत्यु

विराटनगर / विराटनगरको कोशी अस्पतालमा कोरोनाका कारण थप एक पुरुषको बिहीबारराति मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले आइसोलेसनमा उपचाररत उनको राति ८ बजे मृत्यु भएको बताए । ती पुरुषलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर ल्याइएर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

तर रिपोर्ट भने उनको मृत्यु हुनुभन्दा एक घण्टा अघि साँझ ७ बजेतिर मात्रै पोजेटिभ आएको थियो । मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या रहेको र शरीरमा रगतको पनि कमी देखिएको जानकारी डा. दासले दिए ।

अवस्था गम्भीर बन्दै गएपछि ती पुरुषलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन खोजिएको थियो । तर धरानले बेड खाली नभएको जनाएपछि कोशीमै राखेर उपचारलाई निरन्तरता दिइएको दासको भनाइ छ ।

बिहीबार दिउँसो विराटनगर–१५ का ३० वर्षीय पंकज गुप्ताको पनि कोशी अस्पतालकै आइसोलेसनमा मृत्यु भएको थियो । तर मृत्यु भएपछि साँझ ७ बजे उनको कोरोना रिपोर्ट नेगेभिट आएको थियो । कोरोनाको लक्षण देखिएका युवाको मृत्यु भए पनि रिपोर्ट नेगेटिभ आएको भन्दै शंका लागेर चिकित्सकले अर्को पटक पनि स्वाब परीक्षणका लागि प्रयोगशालामा पठाएका छन् । तर त्यसको रिपोर्ट भने आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित