गोरु पक्रदा एसपीको सरुवाको चलखेल !

झापा / झापामा नेपाल प्रहरी सङ्गठनका धेरै एसपी आए, गए । तर, अहिलेसम्म कुनै पनि एसपीले गाई गोरु नियन्त्रण तथा रोकथाममा हात हाल्न चाहेनन् । बरु भारतबाट चोरी, तस्करी गरी सामान भित्रिने गतिविधिसम्म रोक्न लाग्थ्यो । गाई गोरुमा हात हाल्यो कि गाई गोरु तस्करी सञ्जालको पावरको अगाडि एसपीको कुर्सी नै हलिन्थ्यो । किनभने, गाइ गोरु तस्कर सञ्जालको सेटिङ पूर्वका उच्च प्रहरी अधिकृतदेखि हेड क्वाटर हुँदै गृहसम्म हुने गरेको छ ।

झापा जिल्ला गाइ गोरु भारत निकासी गर्ने नेपालकै मुख्य नाकामा पर्छन् । झापासँग भारतको विहार र बङ्गाल राज्य जोडिएको छ । यहाँबाट भारत पुगेका गाइ गोरु मासुका लागि भारतको आसाम, मणिपुरहुँदै तेस्रो मुलुक बङ्गलादेशसम्म पुग्ने गरेको छ । बर्षोदेखि झापामा गाई गोरुको तस्करी नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सेटिङमा हुँदै आइरहेको थियो । तर, यस्तो सेटिङ र सञ्जालको अगाडि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली कठोर प्रहरी कर्मचारी भएर उभिए । एसपी मैनालीले कसैको सामु नझुकिएर गाई गोरु तस्करी नियन्त्रण तथा रोकथाममा खुलेर लागि परे ।

उनी खुलेर लागि मात्र परेनन, गाई गोरु बरामद समेत गर्न थाले । गाई गोरु बरामदसँगै मोरङ जिल्लाबाट झापा प्रवेश गर्ने ठुला ट्रकहरूलाई राजमार्गबाहेक झापाका सीमावर्ती नाकामा नलैजान अभियान नै सुरु गरे । सात महिनाअघि झापा आएका एसपी मैनालीले गाई गोरु बरामद गर्न जिल्ला मातहतका प्रहरी कार्यालयका इञ्जार्चलाई ठाडो निर्देशन दिएकाले तस्कर सञ्जालभित्र अहिले खैलाबैला मच्चिएको छ ।‘म झापामा आउनु अघिदेखि नै गाई गोरु तस्करी हुँदै आइरहेको थियो, यसलाई रोक्न प्रहरी कार्यालय झापाले अभियान नै थालेको छ’, एसपी मैनालीले भने, ‘तस्करी खुलाउन धेरै व्यक्ति म कहाँ आएको थियो, ‘तर, मैले तिनीहरूको प्रस्ताव अस्वीकार गरे ।, ‘बरु मलाई सरुवा गरे हुन्छ, म झापामा हुँदासम्म गाई गोरु तस्करी नियन्त्रण गरेरै छाड्छौ’, एसपी मैनालीले भने ।

दुई वटा ट्रकसहित ५० वटा गोरु नियन्त्रण

मोरङ जिल्लाबाट झापा गाई गोरु लोड गरिएको ठुला तथा साना ट्रक झापा प्रवेश गरेसँगै झापा प्रहरीले दमकमा तथ्याङ्क सङ्कलन गर्ने अभियान सुरु गरेको छ । प्रहरीको यस अभियानलाई चक्मा दिँदै मङ्गलवार बिहान ३ बजे दमकबाट दुई वटा ट्रकमा लोड भएका ५० वटा गोरु पूर्वतर्फ लागेको सूचना प्रहरी कार्यालय झापालाई बिहान प्राप्त भयो । सूचना प्राप्त भएपछि तत्काल एसपी मैनालीले राजमार्गका प्रहरीलाई हाइअलटमा रहन निर्देशन जारी गरे । सोही क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले बिहान ४ बजे दुई वटा ट्रकसहित ५० वटा गोरु नियन्त्रणमा लिए ।

पूर्व–पश्चिम राजमार्ग छाडेर झापाको कनकाई नगरपालिका ३ स्थित भित्री सडक प्रयोग गरी सुरुङगाबाट झापा गाउँपालिकाको टाघनडुब्बा नाका हुँदै भारतको डिगलबैक नाकातर्फ लैजाने क्रममा प्रहरीले ना ६ ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रकसहित गोरु नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘भारत लैजाने उद्देश्यले पश्चिमबाट ल्याएको गोरु नियन्त्रणमा लिएका हौ’ं, डिएसपी श्रेष्ठले भने, ‘भारतको उत्तर प्रदेश राज्यबाट नेपाल भित्राइएको गाई गोरु नेपालको बाटो प्रयोग गरी झापाबाट तस्करी गर्न ट्रकमा लोड गरी गाई गोरु ल्याएका हुन, गाई गोरु तस्करी नियन्त्रणमा अभियानकै क्रममा बरामद गरिएको हो ।’

गाई गोरु र दुई वटा ट्रक १६ लाखमा भन्सार बुझाइयो

प्रहरीले बरामद गरेको ५० वटा गोरु, दुई वटा ट्रक र चालकद्धयलाई आवश्यक कारबाहीका लागि मङ्गलवार दिउँसो भद्रपुर भन्सार कार्यालय बुझाएका छन् । प्रहरीले ट्रकका चालकद्धय मकवानपुर जिल्ला हेटौडा ४ बस्ने रोमियो कालिकोटे र बारा जिल्ला निजगढ नगरपालिका ४ बस्ने विरबहादुर थिङसहित ५० वटा गोरु र दुई वटा ट्रक आवश्यक कारबाहीका लागि भन्सार बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले ५० वटा गोरुको दुई लाख २५ हजार र ७ लाखको दरले दुई वटा ट्रक १४ लाख गरी जम्मा १६ लाख २६ हजारमा भन्सार बुझाएको छ । भन्सारले गाई गोरुको कानुनी प्रक्रिया अघि बढाइसकेको भद्रपुर भन्सारका नायव सुब्बा विकास दाहालले जानकारी दिए । गाईगोरुलाई मङ्गलवार नै लिलाम गरिएको बताउँदै उनले भने, ‘दुई ट्रक भन्सारमै राखिएको छ, चालकद्धयको धरौटी बुझाउन नसक्दा प्रहरीको हिरासतमा राख्न पठाइएको छ ।’

ट्रकमा ल्याएको गोरु कसको ?

प्रहरीले नियन्त्रणमा लिएको ५० वटा गोरु दमक नगरपालिका ५ बस्ने जीवन कार्की रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार दमकका कार्कीले सर्लाही बरहथवा नगरपालिका ६ बस्ने निरजकुमार सिंह ९चौपाया खरिद बिक्री केन्द्रबाट दुई वटा पानमा बिलमा खरिद गरी ५० वटा गोरु झापा ल्याएका हुन । खरिद गरिएको दुवै बिलको मिति कार्तिक १७ गतेको छ ।

प्रतिक्रिया

सम्बन्धित