आयुर्वेदको बेथिति रोक्न बल्ल अनुगमन

बिर्तामोड / जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीले आयुर्वेद क्षेत्रमा देखिएको बेथिति रोक्न अनुगमन शुरु गरेको छ । केही समय अघि झापाको दमक–५ रातोपुलस्थित बरदान आयुर्वेद चिकित्सा केन्द्रमा छारसूत्रको उपचारको क्रममा एक महिलाको मृत्यु भएको थियो । अनुमति नै नलिई सञ्चालनमा रहेको आयुर्वेद चिकित्सा केन्द्रमा महिलाको मृत्यु भएपछि पूर्वाेली न्यूजले आयुर्वेद क्षेत्रमा देखिएका समस्या र बेथितिका विषयमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भए लगत्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीले दमक र बिर्तामोडमा रहेका आयुर्वेद अस्पताल तथा क्लिनिकहरुको अनुगमन शुरु गरेको हो । सो क्रममा दमकमा पाँच वटा क्लिनिकको अनुगमन गरिएको थियो ।

यता बिर्तामोडमा रहेका ६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । सो क्रममा बिर्तामोडस्थित ओम धनवन्तरी आयुर्वेद क्लिनिकले भ्रामक बिज्ञापन प्रकाशन गरेर छारसूत्रको उपचार गर्ने गरेको भन्दै तत्काल बन्द नगरे कानून अनुसार कारवाही गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका प्रमुख रवीन्द्र निरौलाले बताए । उनले भने– ॐ धनवन्तरी आयुर्वेद क्लिनिकले मापदण्ड विपरीत कार्य गरेको पाइयो, नियम विपरीत कार्य गरिरहे कानून अनुसार कारवाही गर्दै क्लिनिक नै बन्द गर्न सकिनेछ ।

त्यस्तै माता मनकामना आयुर्वेद क्लिनिकले पनि अवैध रुपमा छारसूत्रको उपचार गरिरहेको पाइएको छ । मापदण्ड विपरीत बिरामीलाई भ्रममा राखेर उपचार नगर्न भनेका छौं– स्वास्थ्य केन्द्र प्रमुख निरौलाले भने– माता मनकामनामा प्रमाणपत्र नै नराखी डाक्टरको बिज्ञापन गरिएको भेटियो । त्यस्तै बिर्तामोडमा नै रहेको आयुर्वेदिक काफ्ले क्लिनिकमा डाक्टर नै नभएको पाइएको छ । मापदण्ड अनुसार क्लिनिकहरुले अनिवार्य रुपमा चिकित्सकको व्यवस्थापन गर्नुपर्नेमा चिकित्सक नै नभएको र व्यवस्थापन समेत भद्रगोल अवस्थामा रहेको भन्दै प्रमुख निरौलाले तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

त्यस्तै बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरको समेत अनुगमन गरिएको थियो । चिकित्सकहरुको विवरण अध्यावधिक नभएको तथा डाक्टरहरुको कागजात नभएको भन्दै तत्काल उपलब्ध गराउन प्रमुख निरौलाले निर्देशन दिए । यसैगरी रवीन आयुर्वेदिक क्लिनिकलाई भ्रामक बिज्ञापन नगर्न निर्देशन दिँदै उपलब्ध सेवा तथा चिकित्सकको विवरण मात्र राख्न प्रमुख निरौलाले निर्देशन दिए । क्लिनिकमा रहेका डाक्टरको कागजात नभएको भन्दै तत्काल उपलब्ध गराउन उनले निर्देशन दिए ।

उता सुश्रुत आयुर्वेद अस्पताल प्रालिले अनुमति नै नलिई पञ्चकर्म सेवा सञ्चालन गरिरहेको भन्दै तत्काल उक्त सेवा बन्द गर्न निर्देशन दिइएको छ । अस्पतालमा डाक्टर समेत नभएको भन्दै नियमित डाक्टरको व्यवस्था गर्न प्रमुख निरौलाले लिखित निर्देशन दिएका छन् । बिर्तामोडमा रहेका विभिन्न आयुर्वेदिक स्वास्थ्य संस्थामध्ये बिहीवार ६ वटा स्वास्थ्य संस्थाको अनुगमन भएको थियो ।

अधिकांशमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको निरौलाले बताए । झापामा सञ्चालित कुनै पनि आयुर्वेद क्लिनिकले छारसूत्रको अनुमति नलिएको र सञ्चालनमा रहेकाले अबैधरुपमा सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनको सहयोगमा त्यस्ता क्लिनिकले अवैध रुपमा सेवा प्रवाह गरेको थाह पाए धरपकड गर्न आग्रह गरिएको प्रमुख निरौलाको भनाइ छ । उता दमक–६मा रहेको माता पाथीभरा आयुर्वेदिक फर्माले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग अनुमति नै नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको पाइएको छ । डाक्टर समेत नभएको भन्दै सो स्वास्थ्य संस्थामा प्रमुख निरौलाले तत्काल सम्पूर्ण कागजात लिएर जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा उपस्थित हुन निर्देशन दिएका छन् ।

त्यस्तै दमकमै रहेको महाकांल जडीवुटीले होर्डिङ वोर्ड समेत नराखी अवैध रुपमा बिरामीलाई ग्यारेन्टीका साथ उपचार गर्ने भन्दै जडीवुटी विक्री वितरण गरिरहेको अनुगमनका क्रममा फेला परेको थियो । जडीवुटीलाई प्याकेजिङ गरेर तीस हजारदेखि ५० हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको खुलेको छ । उक्त जडीवुटी केन्द्रलाई अबैध रुपमा जडीवुटी विक्री वितरण नगर्न लिखित रुपमा कागज गराई सुध्रने मौका दिइएको प्रमुख निरौलाले बताए ।

त्यस्तै दमकमै रहेको पवित्रा आयुर्वेदिक क्लिनिक, सुजन आयुर्वेदिक क्लिनिक र खनाल आयुर्वेद क्लिनिकमा डाक्टर नभएको भन्दै डाक्टर उपलब्ध गराएर मात्र सेवा सञ्चालन गर्न लिखित रुपमा निर्देशन दिइएको छ । त्यस्तै गत भदौ २८ गते मृत्यु भएको बरदान आयुर्वेद चिकित्सा केन्द्रका सञ्चालकले आफ्ना सम्पूर्ण सामानहरु लिएर हिँडेको अनुगमनका क्रममा खुलेको छ ।

बिर्तामोडमा गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा बलराम वेघा लिम्बू, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरीक्षक हरेन्द्र साह, वैद्य मनोजकुमार पण्डित र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा केन्द्रका सहसंयोजक दीपेन्द्र चौधरी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी हवल्दार तथा सञ्चारकर्मीसहितको टोलीले अनुगमन गरेको थियो ।

‘बिज्ञापन गर्न अनुमति लेऊ’

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीका प्रमुख निरौलाले आयुर्वेद सम्बन्धी बिज्ञापन गर्नु परे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको अनुमति लिन आग्रह गरेका छन् । विभिन्न आयुर्वेद क्लिनिकहरुले सस्तो लोकप्रियता तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रशारण गरिरहेको भन्दै उनले त्यस्ता विज्ञापनहरु बन्द गरिदिन सञ्चारमाध्यमसंग समेत आग्रह गरे । उनले भारतको पानीट्याङ्की लगायत विभिन्न स्थानमा ग्यारेन्टीका साथ उपचार गरिने भन्दै विज्ञापन प्रशारण प्रकाशन गर्ने गरेको भन्दै कुनै पनि रोगको उपचार ग्यारेन्टीका साथ हुनै नसक्ने बताए । उनले भ्रामक विज्ञापनको भर नपर्न समेत आग्रह गरेका छन् ।

‘पानीट्याङ्कीमा भन्दा नेपालमै राम्रो उपचार’

राम्रो उपचारका नाममा भारतका विभिन्न स्थानमा खुलेका आयुर्वेद क्लिनिकहरुले नेपाली बिरामीलाई ठगी रहेको भन्दै प्रमुख निरौलाले भारतमा भन्दा नेपालमा नै आयुर्वेदको उपचार राम्रो हुने बताएका छन् । उनले छारसूत्रको ग्यारेन्टीका साथ उपचार गर्ने भन्दै नेपाली विरामीहरुको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको बताए । निरौलाले भने – पैसाको लोभमा परेर आफ्नो स्वास्थ्य वर्वाद नगरौं । नेपालमा उपचार गराउँदा कुनै तलमाथि भए कानून बमोजिम कारवाही गर्न सकिन्छ तर भारतमा उपचारका क्रममा तलमाथि भए स्वास्थ्य केन्द्रले केही गर्न नसक्ने बताए ।

जथाभावी आयुर्वेदिक औषधि नकिन्न सुझाव

झापाका विभिन्न बजारमा सडक पेटीमा ग्यारेन्टीका साथ निको हुने भन्दै आयुर्वेदिक औषधि बिक्री वितरण गर्ने गरेको पाइएको भन्दै त्यस्ता औषधि नकिन्न सर्वसाधारणलाई स्वास्थ्य केन्द्र प्रमुख निरौलाको सुझाव छ । उनले भारत लगायतका विभिन्न स्थानबाट आएका व्यक्तिले आयुर्वेदका नाममा भ्रमपूर्ण विज्ञापन गर्दै जडीवुटी र जडीवुटीका नाममा प्याकेजिङ औषधि विक्री वितरण गरिरहेका छन्, त्यस्ता बस्तु नकिन्न म सबैलाई आग्रह गर्छु – प्रमुख निरौलाले भने ।

प्रतिक्रिया

सम्बन्धित