प्रचण्ड लक्षित उपेन्द्रको टिप्पणी : दुई दिनको सत्ताका लागि राजावादी, कांग्रेस जोसँग पनि मिल्छन्

काठमाडौं  । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने काम समेत नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गरेको उनको जिकिर थियो ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष यादवले सत्ताका लागि कम्युनिष्टहरु राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताएका हुन् । कम्युनिष्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिष्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकी रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिष्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनु परेको बताए ।

उनले भने, ‘अहिलेको कम्युनिष्ट साथीहरु नरिसाउनु होला । अहिलेका कम्युनिष्ट पार्टीका नेताहरुको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नु भएको छ । त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन । राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के का लागि ? सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, काँग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ । के को लागि भन्दाखेरी त्यहाँ बैचारिक अन्यौलता, आर्दश र चिन्तन हराएपछि केवल अवसरवाद मात्रै बाँकि रहदो रहेछ । त्यो चाँही सबैमा होइन । त्यसले चरम अवस्थामा रहेका छरिएर रहेका नेपालका कम्युनिष्टहरुमा को सही हो, को गलत हो ? छुट्टयाउनै गाह्रो छ ।’ अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रुपमा देखिएको दाबीसमेत गरे ।

प्रतिक्रिया

सम्बन्धित