सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्न सबैलाई छुट छ, अनावश्यक टिप्पणी नगर्नुस् : मन्त्री लालबाबु पण्डित (भिडियोसहित)

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ससुरालीले दिएको जग्गा नै आफ्नो सम्पतिको स्रोत रहेको बताएका छन्। हालै सार्वजनिक सम्पति विवरणमा मन्त्री पण्डितको बैँक ब्यालेन्समात्रै ५५ लाख रहेको तर साइकल मात्र सम्पति देखाएको भन्दै आलोचना बढेपछि शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई छ।

२०७० सालमा पहिलो पटक मन्त्री भएको र ससुरालीले दिएको जग्गानै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न पनि उनले आग्रह गरे। उनले भने,‘मेरो अहिले सार्वजनिक गरेको सम्पत्ति आजको विवरण होईन।’ आफूले ढिलो विवाह गरेको कुरा सर्ववित्तितै रहेको बताउँदै मन्त्री पण्डितले भने,‘मैले ढिलो विवाह गरेको हुँ, मेरी श्रीमतीपनि ३५ वर्ष पुगेकी थिईन्, उनको परिवार ललितपुरको भैंसैपाटी वडा नम्बर ३ थियो, माईतीले मेरो श्रीमतीलाई घर बनाउनको लागि जग्गा दिनुभएको थियो।’

त्यस्तै उनले आफ्नो उक्त जग्गा अहिले भाडामा रहेकोले त्यसबाट पनि आय भैरहेको जनाए । श्रीमती र आफूबीच अहिलेपनि ससुरालीले दिएको जग्गामा घर बनाउने कि नबनाउने भन्नेमा असमझदारी भैरहेको उनले जनाए । उनले भने,‘घर बनाउनको लागि बैंकमा राखेको पैसा अहिले वृद्धि भैरहेको छ।’ हालै भएको निर्वाचनमा पनि आफूलाई धेरैजनाले सरसहयोग गरेको उनले बताए ।

मन्त्री पण्डितले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विकास कार्यक्रमहरु आईसकेकोले अब ऐनाजस्तै देखिनेगरि बजेटमा आउने बताए । उनले भने,‘त्यतिवेला कांग्रेसले पनि साँच्चै आएछ है भन्छ, अनि राजपाका साथीहरुले पनि तराई–मधेशलाई विशेष नै आएछ है भन्नुहुनेछ।’ जनतालाई यतिवेला पहिला चाहिएको कुरा सेवा प्रवाह, सुशासन र विकास नै भएकोले सरकार सोही दिशामा लागिरहेको उनको भनाई थियो । उनले भने,‘धेरै कुराहरु नीति तथा कार्यक्रममा आएका छन्, अब छर्लङ देखिनेगरि बजेटमा आउँदैछ।’

मुलुकको विकासको लागि आफूहरु कांग्रेससँगपनि अंकमाल गर्दै अघि बढ्न तयार रहेको भन्दै कांग्रेसले पनि अब साथ दिनुपर्ने उनको भनाई छ । उनले भने,‘मैले त यही ऋषिजीको क्लबमा भनेको थिएँ, कांग्रेस सभापति देउवाजीले मन्त्रीहरु पठाउनुभयो भने नेपालीहरुको विश्वमा नयाँ पहिचान बन्छ।’ उनले पछिल्लो समय नेपालमा नकारात्मक कुरा बाहेक सकारात्मक कुरा नहुने र नदेख्ने गरिएको भन्दै गुनासो पोखे ।

Purbeli TV

तपाईको प्रतिक्रिया