सांसद खडकाको दवावमा छुटे काठ व्यवसायी

  उदयपुर । नेपाली काँग्रेस नेताको दवावमा जिल्ला वन कार्यालय उदयपुरले वन पैदावार कसुरमा नियन्त्रणमा लिएको एक काठ व्यवसायीलाई छाडिदिएको छ । त्रियुगा नगरपालिका ६ स्थित लालपत्ता महेन्द्र राउतको स मिलबाट अवैध काठ बरामद भए पश्चात वन कार्यालयले उनलाइ नियन्त्रणमा लिएका थिए । वन कार्यालयले नियन्त्रणमा लिएपछि नेपाली काँग्रेसका नेता उदयपुर क्षेत्र नं. १ का सांसद डा.नारायण खड्काको दवावमा काठ व्यवसायी महेन्द्र राउत छुटेका हुन ।

काठ व्यवसायी राउत वन कार्यालयबाट लगत प्रमाणित नगरि ओसारपसार गरेको अभियोगमा पक्राउ परेका थिए । राउतले भरत बहादुर कार्कीको नाममा रहेको निजी जग्गाबाट साविकको देउरी ५ बाट सिसौ जातका काठहरु कटान गरि वन कार्यालयबाट लगत प्रमाणित नगरेको आरोपमा जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएको थियो ।

व्यवसायी राउतलाई नियन्त्रणमा लिने वित्तिकै डा. खड्काको ठाडो निर्देशनमा राउतलाई छोडेको स्वयम राउतले स्वीकार गरे । ‘मलाई वन कार्यालयले झण्डै थुनेको थियो तर माननिय सांसद डा. नारायण खड्काले वन कार्यालयका प्रमुखलाई फोनबाट दवाव दिनुभयो र कानुन व्यवसायीहरु जमानी बसेर हिरासतबाट निकाल्नु भयो ।’ उनले भने ‘म पनि कानुन व्यवसायी भएकाले सबैले दवाव दिएर फेरी उपस्थित हुने गरि वारका अध्यक्षको जमानीमा छुटे ।’

लालपत्ता सामुदायिक वन उपाभोक्ता समूहको अध्यक्ष समेत रहेका राउतलाई जमानीमा राखेर वन पैदावार मुद्दाको अनुसन्धान सुरु गरिएको वनका अनुसन्धान अधिकृत शत्रुधान ठाकुरले बताए । ‘हामीले राउतलाई हिरासतमै राखेर कार्वाही गर्नु पर्ने हो तर कानुन व्यवसायीले आवश्यक परेको बेला उपस्थित गराउने गरि बुझेर लानु भएको छ ।’ सेक्टर वन कार्यालय गाईघाटका सहायक वन अधिकृत समेत रहेका ठाकुरले भने ‘राउतलाई छाडेको हैन, उहाँ वन कार्यालयको निगरानीमा हुनुहुन्छ, काठको बारेमा अनुसन्धान भईरहेको छ ।’ राउतको स मिलबाट करिब दुई सय क्यूवी फिट सिसौका अवैध काठ नाप जाँच गरि सिल गरिएको छ ।

तपाईको प्रतिक्रिया