सरकारी मोटरसाईकल प्रहरीको नियन्त्रणमा

 ताप्लेजुङ । ताप्लेजुङमा सरकारी सवारी साधनको दुरुपयोग हुन थाले पछि ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिन थालेको छ । शनिवार (आज) फक्ताङलुङ गाउँपालिकाको नाममा रहेको मे १ ब ३१३ नम्बरको मोटरसाईकल निर्माण व्यवसायमा संलग्न एक व्यक्तिले प्रयोग गरिरहेको अवस्थामा भेटिए पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।

फक्ताङलुङ गाउँपालिकाको वडा सचिव पवन कुमार देवले प्रयोग गर्ने उक्त मोटरसाईकल निर्माण व्यवसायमा संलग्न रहेका दिवस लावुङले चलाईरहेको अवस्थामा भेटिए पछि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयलाई बुझाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका ईन्चार्ज टंक न्यौपानेले बताउनुभयो ।

विदाको समयमा विनापास नै कर्मचारीले निजि कामका लागि प्रयोग गर्ने गरेको र अन्य व्यक्तिलाई समेत कुदाउन दिन थालेको पाईए पछि कडा निगरानी गर्न थालिएको न्यौपानेले बताउनुभएको छ । विदाको समयमा केही सरकारी सवारी साधन सिक्न प्रयोग भएको, विवाह, मलामी, पिकनीक, नीजि भ्रमण लगायतमा प्रयोग हुने गरेको सुचना आफुहरुकोमा आउने गरेकाले अहिले निगरानी बढाईएको ट्राफिक प्रहरीको भनाई छ । स्थानीयले समेत सरकारी गाडी दुरुपयोग हुन थालेकोमा गुनासो गर्न थालेका छन् ।

यस अघि पनि यस जिल्लामा पटक पटक सरकारी गाडी विदाको समयमा समेत विना पास चलाईदै आएको पाईएको थियो । सरकारी सवारी साधन सरकारी कामका लागि कार्यालय समयमा मात्रै चलाउन पाईने र विदाको समयमा सरकारी कामकाजका लागि प्रयोग गर्नु परे जिल्ला प्रशासन कार्यालयबाट पास लिनु पर्ने प्रावधान रहेको प्रमुख जिल्ला अधिकारी मोहनकुमार जिसिले बताउनुभयो । अन्यथा प्रयोग भए कानुनी कारवाही हुने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया