श्रीजुङ, पौठाक जोडिने सडक स्तरोन्नति एवं कालोपत्रेका लागि पहल गर्ने : राज्यमन्त्री गुरुङ

तेह्रथुम /  भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले तेह्रथुमको जिरिखिम्तीदेखि मोराहाङ हुँदै श्रीजुङ, पौठाक जोडिने सडकको स्तरोन्नति तथा कालोपत्रेका लागि पहल गर्ने बताउनुभएको छ । राज्यमन्त्री भएपछि आज पहिलो पटक मेन्छ्यायेम गाउँपालिका पुग्नुभएकी गुरुङलाई मेन्छ्यायेम गाउँपालिकाले भव्य स्वागत तथा सम्मान समेत गरेको छ ।  स्वागतपछि बोल्दै राज्यमन्त्री गुरुङले लामो समयसम्म मोटो रकम खर्च गरिसक्दा समेत सडकको स्तरोन्नति हुन नसकेको भन्दै यथासिघ्र सडक कालोपत्रे गर्नका लागि आफुले भूमिका खेल्ने बताउनुभयो । सो सडक निवर्तमान सांसद भवानीप्रसाद खापुङले निर्वाचन क्षेत्र विकास अन्तर्गत रोज्नुभएको सबैभन्दा ठुलो पाँच करोडको योजना हो ।

चुनाव प्रचार प्रसारकै शिलशिलामा आफु मोराहाङ आइपुग्दा सडकको निरीक्षण समेत गर्न पाएको भन्दै राज्यमन्त्री गुरुङले सडकको दुरावस्था सुधार गरी मेन्छ्यायेम गाउँपालिकाका बासिन्दाको जनजीवनलाई सहज बनाउने प्रतिवद्धता समेत जनाउनुभयो । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार समेत रहनुभएकी राज्यमन्त्री गुरुङले गाउँपालिकाको भवन निर्माण, विकास र समृद्धिका लागि समेत विभिन्न प्रतिवद्धताहरु जनाउनुभएको छ । राज्यमन्त्री गुरुङलाई मोराहाङको गौखुरी महिला बहुउदेश्यीय सहकारी संस्थाले पनि स्वागत तथा सम्मान गरेको थियाे ।

तपाईको प्रतिक्रिया