विदेशबाट फर्किएका युबाहरुको रहर लाग्दो व्यवसाय

दुध बिक्रीबाट बिदेशको कमाई भन्दा दोब्बार आम्दामी लिँदै

तेह्रथुम / गाउँमै बिदेशबाट फर्किएका युबाहरुले रहर लाग्दो ब्याबशाय सञ्चालन गर्न थाले पछि गाउँलेहरुको आँखा बल्न थालेको छ । धेरै युबाहरु रोजगार र पैसा कमाउन बिदेश पुग्ने गरेका छन । बिदेशको अनुभब र श्रमलाई आफनै गाउँ ठाउँमा बसेरै मनग्ये कमाई गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् छथर गाउँपलिका २ हमरजुङका ४७ वर्षे अमरकृष्ण बस्नेत । छ वर्ष मलेशिया बस्दा निकै दुःख पाए उनले । घर जग्गा धितो राख्दै होस् या तीन टक्के व्याजमा ऋण काढेर होस्, धन कमाउने सपना बोकेर विदेश पुगेका नेपालीका सुख दुःख पनि देखे उनले । ‘विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाई गर्न सकिने रहेछ, उनी भन्छन् । बस्नेतले मलेसियाबाट फिरेपछि अहिले गाउँमै खेर गइरहेको दुधको सदुपयोग गर्दै छथर दुग्ध परिकार उद्योग खोलेका छन् । सुरुमा अन्य ४ जना साथीहरुसँग मिलेर खालेको उद्योग उनेले एक वर्षदेखि आफ्नै एकलौटी बनाएका छन् ।

विदेशबाट फिर्दा हातमा थोरै पैसा थियो, उनी भन्छन्, ‘तर त्यो भन्दा धेरै दिमागमा चेत खुलेको थियो कि विदेशभन्दा स्वदेश नै जाति छ ।’ मलेसिया पुग्दा भोगेका दुःख सम्झँदै बस्नेतले उनी कहाँ पुग्ने कसैलाई पनि विदेसिने सल्लाह दिदैनन् । उनी भन्छन्, ‘विदेश के का लागि जाने ? यदि पैसाकै लागि हो भने त्यहाँ गर्ने दुःख यही गर्दा त्यसको दोब्बर कमाउन सकिन्छ ।’ उनले गाउँका केही राहदानी बनाइसकेका युवालाई समेत स्वदेशमै केही गर्नुपर्छ भनेर सम्झाएर कृषि पेशामा आवद्ध गराएको सुनाए ।

बस्नेतको दुग्ध परिकार उद्योगबाट हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक करिब ७ क्विन्टल छुर्पी, ४ सय केजी बढी नौनी उत्पादन हुने गरेको उनले जनाए । पनिर भने अर्डर बमोजिम मात्रै बनाइन्छ । उत्पादित छुर्पी र नौनीकालागि बजारको कुनै समस्या छैन, घरैबाट विक्री हुन्छ ।

उनले उत्पादन गरेको छुर्पी इटहरी हुँदै काठमाडौँ भएर अमेरिकातर्फ निर्यात हुन्छ भने नौनी ऊर्लाबारी, विराटनगर, धरान लगायत शहरहरुमा खपत हुन्छ । तर विक्री गर्न कही जान पर्दैन उनलाई । ‘उत्पादित सामाग्री घरैबाट खपत् हुन्छ, मुल्य पनि सन्तोषजनक नै छ ।’ उनले भने । हाल बस्नेतले छुर्पी घरैबाट ८ सय ५० रुपैयाँ केजी र नौनी प्रति केजी साढे पाँच सय रुपैयाँमा विक्री गरिरहेका छन् ।

बस्नेतको उद्योगबाट मासिक सरदर ७ लाख रुपैयाँ कमाई हुन्छ । त्यसबाट सबै खर्च कटाएर ६० देखि १ लाख सम्म बचत हुने गरेको उनले बताए । गाउँमा उत्पादित दुध जिल्ला बाहिर निर्यात गर्दा उचित मुल्य नपाएपछि उद्योग खुल्ने ऊर्जा मिलेको उनले बताए । उनले किसानबाट सिधै र नजिकको छथर दुग्ध चिस्यान केन्द्रबाट दुध खरिद गर्ने गरेका छन् । उनले प्रति लिटर ४५ रुपैयाँले दुध खरिद गर्छन् ।

उनको उद्योगमा दैनिक ६ सय लिटर सम्म दुध खपत हुन्छ । उद्योगमा बस्नेतको करिब ७ लाख रुपैयाँ लगानी छ । बस्नेतको उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्ने लगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको छ । कामदारलाई खाना, खाजा र बाससहित १५ हजार रुपैयाँ सम्म तलब सुविधा दिएको बस्नेतले बताए ।

बस्नेत आफैँ पनि उद्योगमा काम गर्छन् । परदेशमा दुःख गरेकै हो, उनी भन्छन्, त्यहाँ रहँदा जे पनि गर्न मिल्ने अनि स्वदेशमा चाँहि गर्न नहुने भन्ने गलत संस्कार छ । उनले कुनैपनि काम सानो ठुलो नहुने बताउँछन् । विदेशमा गर्ने दुःख स्वदेशमै गरे मनग्ये कमाई सँगै अरुकोलागि प्रेरणाको श्रोत समेत बन्न सकिने उनले बताए ।

बस्नेत जस्तै रोजगारको शिलशिलमा मलेसियामा ७ वर्ष बिताएका ज्ञानेन्द्र कार्कीको बिदेशको कमाई राम्रै थियो । जिल्लाको छथर गाउँपालिका १ का कार्कीले बिदेशको कमाईले ईटहरीमा घडेरी त जोड्न भयो तर मलेसियामा बसी रहन मन पट्कै मानेन त्यसपछी उनले स्वदेशमै केही ब्याबशाय गर्ने सोच बनाए र फर्किए ।

मलेसियामा रहँदा युब ट्युबमा गाई पालन व्यवसायबाट राम्रो आम्दामी लिएका गोरखाका राजेन्द्रराजको भिडीयो हेरेका थिए । नेपाल फर्किए उनको गाई फर्म हेर्न पुगे पछि गाईपालनबाट पनि राम्रो आम्दामी लिन सकिने पाठ सकेपछि तीन वर्षअघि गाउँमा गाई पालन थाले ।

०७२ साल असोजबाट सुरु भएको उनको व्यवसायको नाम कार्की गाई फार्म हो । तिन गाईबाट सुरु गरेका उनले १२ वटासम्म पुर्याए, अहिले माउ, बाच्छा गरी १८ वटा छन् । दैनिक ६० देखी ७० लिटर दूध उत्पादन हुन्छ । ‘विदेशमा हुँदा गाई पालनबाट राम्रो आम्दानी भएको खबर सुन्थे र सामाजिक सज्जालमा हेर्ने गर्थें ,’ उनले भने, ‘आफ्नै देशमा केही गरौं भनेर व्यवसाय थालेको हुँ।’

उनी आफ्नो पेसाबाट सन्तुष्ट छन् । १ रोपनी जमिनमा २ वटा गोठ बनाएका छन्। ३० रोपनीमा घाँस रोपेका छन ्। उनको व्यवसायमा तीन जनाले रोजगारी पाएका छन्। गाई पालन र घाँस खेतीमा करिब २० लाख लगानी भएको छ । ‘केही उदाहरणीय काम गरौं भनेर फरक क्षेत्रमा हात हालेको हुँ,’ उनले भने, ‘अहिलेसम्म राम्रै भएको छ, अब विदेश जाने सोचमा छैन ।’ उनी विदेशमा गर्ने दुःखले यहाँ दोब्बर कमाउन सकिने बताउँछन् । पहिला विदेशबाट फर्किएर आउँदा रिसाएका परिवार र आफन्त अहिले खुसी छन् ।

त्यस्तै छथर १ कै राज कुमार पन्थ पाँच वर्ष साउदीमा बसे । त्यहाँ बस्दा राम्रो कमाई थिएन बल्लतल्ल साुहको रिन तिर्नु भयो । बिदेशको बसाई राम्रो नभएपछि गाउँमा नै ४ बर्ष अघी शान्तिला गाईफर्म दर्ता गरे । फर्मदर्ता पछि ईलामबाट ३ लाखमा ३ वटा गाई ल्याएर गाईपालन सुरु गरे । सुरुका दिनहरुमा निक्के सकस परे पनि गाईपालनलाई निरन्तरता दिँदे जाँदा बार्षिक ४ लाख आम्दामी लिन सफल हुनु भयो । गाईपालनबाट दैनिक ३० लिटर दुध उत्पादन गर्दै आएका छन । दुध ढुवानीका लागी २ वटा घोडा खरिद गरेका छन ।

उनले उत्पादन गरेको र गाउँमा कृषकहरुले उत्पादन गरेको दुध ढुवानीका लागी उनको घोडा प्रभाबकारी साधन बन्दै आएको छ । ‘पैसा कमाउन दुबई, कतार र युरोप जानुपर्छ भन्न्े छैन,’ उनी भन्छन ‘नेपालमै विदेशमा भन्दा राम्रो कमाउन सकिन्छ, त्यसैले आत्तिनु हुँदैन, धैर्य गर्नु जरुरी छ ।’ उनको परिवार यसैले पालिएको छ । उनी अझै गाईपालनलाई बिस्तार गर्दै लैजाने सोचमा रहेको बताए।

जिल्ला कृषी बिकास कार्यालय तेह्रथुमले जनाए अनुसार पल्छिलो समय उन्नत जातको गाई पालनमा युबाहरुको आकर्षण बढ्दो रहेको छ । । जिल्लामा आर्थिक बर्ष २०७२÷०७३ मा २३ करोड ९२ लाख बराबरको दुध उत्पादन भएको थियो । जिल्लामा उत्पादन हुने दुधमध्ये करिब ७ हजार २ सय लिटर दुध दैनिक जिल्ला बाहिर खपत हुने गरेको कार्यलयका पशु विकास अधिकृत लोकनाथ ढुंगानाले बताए । १० वटा उन्नत गाईफार्म दर्ता गरी सञ्चालनमा रहेको कृषी कार्यालयले जनाएको छ । जिल्लाको लालिगुराँस नगरपालिका र छथर गाउँपालिका गाईपालनमा युबाहरुको आकर्षण  बढ्दाे रहेको छ ।

तपाईको प्रतिक्रिया