झुलाघाटबाट ५२ बालकको उद्धार

बैतडी / बैतडीको सीमा नाका झुलाघाटबाट आज प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ । बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थी दिनहुँ भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सीमा नाका प्रहरीचौकी झुलाघाटका प्रहरी प्रमुख चक्रदेव पाण्डेयले बताउनुभयो ।

जसमध्ये २८ जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने २४ जनालाई अहिले सीमा नाका झुलाघाटमै राखेर परिवारको सम्पर्कमा लगाउने तयारी भइरहेको पाण्डेयले बताउनुभयो ।

बाह्र वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी कोही घर परिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेको प्रहरीले जनाएको छ । उद्धार गरेका सबै बालकलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया