जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई

पाल्पा / एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पतीको बसोबास छ । गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उहाँकी श्रीमती सरुमा सिंजापती उमेरले डाँडापारिको घाम बन्नुभएको छ । उहाँका सन्तान कोही छैनन्, कमाएर दिने आफन्त पनि कोही छैनन् ।

सिंजापती दम्पतीका लागि एउटा जीवन जिउने आधार बनेको छ, सामाजिक सुरक्षा भत्ताबापतको वृद्धभत्ता । वृद्धभत्ता बुझेपछि त्यसैबाट साँझ बिहानको हातमुख जोर्ने, बिरामी पर्दा औषधोपचार गर्ने र त्यसैबाट दुःखसुख गरेर जीवन चलिरहेको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोटको कोटथर बस्ने सिंजापती साँहिला अहिले ८० वर्ष पुग्नुभयो, उहाँकी श्रीमती सरुमा ८५ वर्ष । गाउँनजिकै रहेको पँधेराबाट पानी ल्याउन सक्ने अवस्था छैन, छिमेकीले पँधेरादेखि घरसम्म पानी पु¥याइदिन्छन् ।

सरकारले ७० वर्षमाथि उमेर नाघेका वृद्धवृद्धाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षाभत्ता उहाँहरुको लागि बरदान नै सावित बनेको छ । “सरकारले हामीजस्ता अशक्त गरीब दुःखी परिवारका लागि वृद्धभत्ता दिएर ठूलो गुन लगाएको छ, यसैबाट जेनतेनले जीविका चलेकै छ”, सिंजापती साँहिलाले भन्नुभयो ।

चार महिना पुगेपछि वृद्धभत्ता कहिले दिन्छ भनेर दिन गनेर झुपडीमा वृद्ध सिंजापती दम्पती बस्नुहुन्छ । उहाँहरुलाई भेट्न जाने जोकोहीसँग पनि वृद्धभत्ता कहिले पाइन्छ रु भनेर भेट्ने बित्तिकै सोधपुछ गर्ने गर्नुहुन्छ ।

“चार महिनाको भत्ता एकमुष्ठ दुई जनाको रु १६ हजार आउँछ, त्यही पैसाले चार महिनासम्मका लागि चामल, नून तेल, दाललगायतका सामान किनेर ल्याउने हो” सिँजापती साँहिलाले भन्नुभयो ।

सिँजापती साँहिलाले विगत १० वर्षदेखि र उहाँकी श्रीमती सरुमा सिँजापतीले १५ वर्षदेखि वृद्धभत्ता बुझ्दै आउनुभएको छ । फोक्सिङकोट वडा कार्यालयले चौमासिक रुपमा भत्ता वितरण गर्दै आएको छ ।

झुपडीको घर सिँजापती दम्पती अशक्त हुँदै गएपछि लिपपोत, सरसफाइ हुन छाडेको छ । एउटा सानो झुपडीभित्र चामल, मकै, कनिका, पानीका गाग्री, ग्यालिन, सुत्ने ओछ्यान सबै एकै ठाउँमा कोचिएर राखिएको छ । यसरी सरकारले उपलब्ध गराएको वृद्धभत्ता रकम उमेरले असहाय र अशक्त गरीब दुःखी परिवारका लागि ठूलो राहत हुन पुगेको छ । यसैबाट निम्नवर्गको जीवन धान्ने माध्यम बनेको छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया