जवरजस्ती करणीको प्रयास गर्दा गर्दै पक्राउ

झापा, पुस २८ / फरक क्षमता भएकी एक महिलालाई जवरजस्ती करणी गर्ने प्रयास गर्दा गर्दै झापाको अर्जुनधारा नगरपालिकाबाट आज एक किशोर पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पाँचथरको नवमीडाडा–३ निवासी १९ वर्षीया खगेन्द्र शिवा रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले जानकारी दिनुभयो ।

अर्जुनधारा – ११ मा रहेको चिया वगानमा शिवाले ५२ वर्षीया महिलालाई करणी गर्ने प्रयास गर्दा गर्दै स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको र प्रहरीले उनलाई तत्काल घटनास्थलबाटै पक्राउ गरेको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । पक्राउ परेका शिवालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक विष्टले बताउनुभएको छ ।

यस अघि पुसको दोस्रो साता मात्रै सोही चिया वगानमा फोटो खिच्दै गरेका दिदी भाइलाई नाङ्गेझार पारेर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न तीन युवालाई प्रहरीले पक्राउ गरेको थियो । अर्जुनधारा–११ निवासी १७ बर्षीय बिजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगी र समिर चाहार पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया