चित्रकला र हस्ताक्षर मार्फत भारतीय नेता र दलाई लामाको बिरोध

बेलबारी । तिब्बती धार्मिक नेता दलाई लामाले केहीदिन अघि बुद्ध भारतमा जन्मिएका हुन भनि दिएको गलत अभिब्यत्तिको बिरोध गर्दै मोरङ बेलबारीका युवाहरुले “बुद्ध नेपालमा जन्मिएका हुन” भन्दै प्रत्यक्ष चित्रकला प्रस्तुति तथा हस्ताक्षर अभियान शुरु गरेर सो भनाईको बिरोध गरेका छन । बुधबार बेलबारी १ स्थित मालपौत चौकमा कोशी नेपाल मिडिया,बेलबारी बास्केटबल क्लब तथा बेलबारीका युवाहरुले सामुहिक कार्यक्रम गरी दलाई लामा र भारतीय नेताहरुले पटक पटक बुद्ध आफनो देशमा जन्मिएको भनि दिएको अभिब्यत्ति गलत भएको भन्दै सो भनाई को बिरोध गरेका छन ।

कार्यक्रममा शिक्षासेवी दिलप्रसाद राईले बिश्वका अग्ला १३ वटा हिमालमध्ये १२ वटा नेपालमा रहेको र लामा र भारतीय नेताहरुको गलत अभिब्यत्ति नेपाल बिरद्धको धावा भएको बताए । कार्यक्रममा आदिबासी नेता तिलक राईले नेपालको स्वतन्त्रता र सार्बभौमसत्ता बिरुद्ध कसैले दिएको अभिब्यत्ति आफुलाई स्वीकार्य नहुने बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले समेत बुद्ध भारतमा जन्मिएका हुन भनी गलत अभिब्यत्ति दिँदै आएका छन ।

कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली,नगरप्रमुख ज्ञानेन्द्र सुवेदी लगायतले भारतको हस्तेक्षेपकारी नीति र लामाको गलत अभिब्यत्तिको बिरोध गरेका छन । लामाको बिभेदकारी नीति बिरुद्ध आफुहरु चुप लागेर नबस्ने र यस्ता हर्कतका बिरुद्ध आफुहरु आवाज बुलन्द गर्नका लागी कार्यक्रम आयोजना गरिएको आयोजक कोशी नेपालका खनेन्द्र कुमार राई (अर्जुन) ले बताए ।

कार्यक्रममा बुद्ध नेपालमा जन्मिएका हुन भन्ने देखाउन चित्रकारहरुले चित्र मार्फत सो कुराको पुष्टि गरेका थिए भने बुद्ध नेपालमा जन्मिएका हुन भनी हस्ताक्षर अभियान समेत सञ्चालन भएको छ । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया