चित्तलको मासुसहित एक पक्राउ

बारा / चित्तलको मासुसहित निजगढबाट आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय हरिभगत धामी रहेको छ । आफ्नै घरमा जंगली जनावर चित्तलको मासु बिक्री गरिरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनलाई निजगढ–४ कछडियाटोलबाट सवा दुई किलो मासु र मासु टुक्राउन प्रयोग भएको अचानोसहित पक्राउ गरेको हो ।

पक्राउ परेका धामीलाई आवश्यक कारबाहीका लागि सेक्टर वन कार्यालय तामागढी निजगढको जिम्मा लगाइएको प्रहरी निरीक्षक दीपककुमार रायले बताउनुभयो । पक्राउ परेका धामीको विषयमा आवश्यक अनुसन्धान भइरहेको निजगढ इलाका वन कार्यालयका प्रमुख धमेन्द्र साहले बताउनुभयो । चित्तल मारेमा २० देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको पनि प्रमुख साहले जानकारी दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया