किर्ते कागजातसहित चोरीको मोटर साइकल पक्राउ

 उदयपुर / उदयपुरमा पछिलो समय ट्राफिक प्रहरीले  सक्रियता बढाएसंगै मंगलबार चोरीको मोटर साइकल सहित एक युवालाई पक्राउ गरेको छ ।जिल्लाको बेलका नगरपालिकामा नियमित चेकजाँचको क्रममा ट्राफिक प्रहरीले  पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ सिद्धिपुर का २४ बर्षिय सन्तोष राई रहेका छन् । पक्राउ परेका राईको साथबाट बा.४४ प १९९८ नम्बरको चोरीको पल्सर मोटरसाईकल सहित किर्ते सवारी चालक अनुमति पत्र र किर्ते सवारी दर्ता किताब समेत बरामद गरिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय रामपुर ठोक्सिलाका इन्चार्ज गोबिन्द पौडेलले बताए ।

पक्राउ परेका राईको साथबाट यातायात व्यववस्था कार्यालय कोशीको नामबाट किर्ते सवारी चालक अनुमति पत्र र किर्ते सवारी दर्ता कितावको प्रतिलिपी बनेको देखिएको पौडेलले बताए । उक्त मोटरसाईकल २०७० साल मंसिर १२ गते काठमण्डौंको नरेफाटबाट चोरी भएको थियो ।

मोटरसाईकल सिन्धुली स्थित मधुटार–४ बस्ने पदम बहादुर रोक्काको नाममा रहेको छ । अहिले मोटर साइकल, किर्ते चालक अनुमति पत्र र किर्ते विलबुक सहित राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । किर्ते सबारी दर्ता किताब र किर्ते सवारी चालक अनुमति पत्र लिने दिनेलाई समेत कार्वाही हुने भएकोले अनुसन्धानको पक्रिया अघि बढाइएकाे एसपी नवराज भट्टले बताए ।

पक्राउ परेका राईलाई मुलुकी ऐन अन्तर्गत चोरी र किर्ते कागजको महल अन्तर्गत कार्वाही प्रक्रिया समेत अगाडी बढाएको एसपी भट्टले बताए । यस्तै बेलका नगरपालिकाका बिभिन्न क्षेत्रहरुमा नियमित ट्राफिक चेक जाँचबाट सोचेभन्दा बढी राजस्व संकलनमा भएको छ । तीन महिनाको अन्तरालमा २ लाख १० हजार भन्दा बढी राजस्व संकलन भएको पौडेलले बताए ।

तपाईको प्रतिक्रिया