एमाले नेता शेरधन राई चढेको गाडीमा बम प्रहार

भोजपुर । भोजपुर क्षेत्र २ का एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमा बम प्रहार भएको छ । ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बामा १५ देखि २० जनाको समहूले गाडीमाथि बम प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बम प्रहारबाट ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ । उम्मेदवार राई भने सकुशल छन्। अहिले सो क्षेत्रमा व्यापक रूपमा प्रहरी परिचालित गरिएको छ । प्रहरीले २१ राउन्ड फाइरिङ गरेको छ ।

गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको हो । सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको छ । उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले बताए ।

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ । यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । यो आक्रमणमा विप्लव निकट नेकपाका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया