एउटै घर २ जिल्लामा !

पाँचथर । पाँचथरको मिक्लाजुङ र धनकुटाको चौबीस गाउँपालिकाको सीमावर्ती बजार ६ नम्बर बुधबारेमा एक घरको नक्सा दुई जिल्लामा पास गराउनुपर्ने बाध्यता रहेको छ । जग्गाधनी प्रमाण पूर्जा निकाल्दा र जग्गा दर्ता पास गराउँदा पनि समस्या उस्तै छ । बजारको बीच सडकदेखि उत्तरी क्षेत्रका करिव ३० घरको अवस्था यस्तो छ । सडकले छुट्याए पनि पाँचथरको मिक्लाजुङ गाउँपालिकाको ८ नम्बर वडातर्फ धनकुटाको चौबीस गाउँपालिकाको १ नम्बर वडा सडकदेखि करिव आठ मिटर दूरीसम्म पर्ने हुँदा यस्तो समस्या आएको हो ।

बजार क्षेत्र भएकाले अधिकांश घरको अगाडिपट्टिको जमिन धनकुटातर्फ पर्छ भने भान्छाकोठा र शौचालय पाँचथरतर्फ परेको छ । एउटै घर दुई जिल्लामा परेपछि घर–जग्गासम्बन्धीका प्रशासनिक कामकाजमा अनेकन झन्झट सीमावर्ती क्षेत्रका घरधनीहरूले वर्षौंदेखि व्यहोर्दै आएका छन् ।

भान्छाकोठा पाँचथर र मूलघर धनकुटातर्फ परेका चन्द्रकुमार श्रेष्ठले बजारको पूर्वी क्षेत्रका घरहरू दुई जिल्लामा पर्दा प्रशासनिक कामकाज गराउने क्रममा असहज हुने गरेको बताए । यस्ता घरहरूलाई पाँचथर र धनकुटामध्ये कुनै एक जिल्लामा पार्दा घरधनीहरूलाई सहज हुने उनको भनाइ छ । ‘पहिले एक पटक नापी भयो तर विवाद भयो, त्यसपछि नापी नै भएन’, उनले भने, ‘नापी गरेर दुई जिल्लामा परेका घरहरू एक जिल्लामा पारिनुपर्छ, हामीलाई साह्रै झन्झट भयो ।

’ घरको नक्सा वा घर पास गराइदिँदा पनि आर्थिक भार बढ्ने गरेको छ । एक जिल्लामा हुने काम दुई जिल्लाकै नापी र मालपोत कार्यालयमा गराउनुपर्दा जाँदा–आउँदा आर्थिक भार ठीक दोब्बर हुने गरेको छ । यसरी घर दुई जिल्लामा पर्दा प्रशासनिक झन्झट, आर्थिक भार बढी पर्ने र समयको पनि खर्च हुँदा घरधनीहरू सरकारबाटै पीडामा पर्दै आएका छन् ।

जिल्ला मालपोत कार्यालय पाँचथरका अधिकृत गणेशकुमार खड्काले जिल्ला तहबाटै उक्त समस्या समाधान गर्न सकिने स्पष्ट व्यवस्था नभएको र जिल्ला सीमा हेरफेरसम्बन्धीको कानुनअनुसार प्रमुख जिल्ला अधिकारी संयोजक रहेको सीमा हेरफेरसम्बन्धीको समितिले समस्या छ भनेर किटान गरेर नपठाएको अवस्थामा भूमिसुधार तथा नापी विभागमा जानकारी दिएर समस्या समाधान गर्न सकिने बताए ।

जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख बंगला राईले समस्याको हल एक जिल्लाका जनप्रतिनिधिले गर्न नसक्ने भन्दै दुई जिल्लाकै जिल्ला समन्वय समितिले आपसी समझदारी कायम गरेर मात्रै गर्न सक्ने र सोको आधारमा सीमा विज्ञहरूलाई सीमांकन गराउन सकिने बताएकी छिन ।

तपाईको प्रतिक्रिया