उत्तरी मोरङमा सडक अतिक्रमण हटाइँदै

 

शुन्दरहरैचा । मोरङका स्थानीय तहमा सडक मिचेर बनाइएका अवैध संरचना हटाउने तथा नगरलाई व्यवस्थित र सुन्दर बनाउने कामले अहिले तीब्रता पाउन थालेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएको करिब वर्षदिनपछि स्थानीय तहले सडक अतिक्रमण खाली गराउन थालेका हुन् ।

पछिल्लो समय मोरङको सुन्दरहरैंचा,बेलवारी, पथरी शनिश्चरे,उर्लावारी लगायतका नगरपालिकामा सडक मिचेर बनाइएका अवैध संरचना हटाउन अभियानै थालिएको छ । सरकारले पटक–पटक नगरका मुख्य सडकको दुवै तिर दायाँ–बायाँ ८२.५ फुट छाड्न र बनेका संरचना हटाउन सूचना जारी गरे पनि नगरवासीले अटेर गर्दै आएकोमा अहिले स्थानीय तहले अतिक्रमण भएको सडक खाली गराउने कार्यलाई प्राथमिकताका साथमा अघि बढाएको हाे ।

बेलबारीमा हालै  राजमार्ग क्षेत्रमा सडक मिचेर बनाइएका घर–टहरा तथा अन्य व्यावसायिक प्रयोजननिम्ति बनाइएका संरचना डोजर प्रयाेग गरेर हटाइएको छ । नगरपालिकाले विगत केही दिन देखि सडक मिचेर बनाइएका संरचना हटाउन थालेको हो । बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले अन्य क्षेत्रमा पनि सडक मिचेका संरचना हटाउने कार्यलाई निरन्तरता दिइने बताए ।

बेलबारीमा उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय बेलबारी तथा स्थानीय संघ–संस्थाको सहकार्यमा नगरले अवैध घर–टहरा हटाउने कार्य गरेको हो । बेलबारी–२ मा पर्ने किस्ती खोलाबाट अवैध संरचना हटाउन थालिएको हो ।

सडक मिचेका बनेका संरचना हटाउनेक्रममा नगरवासीले ठाउँ–ठाउँमा समान्य अवरोध गरे पनि नगरले अभियान नरोक्ने बेलवारी नपाका प्रशासनिक अधिकृत गणेशप्रसाद दाहालले बताए । उनका अनुसार सडक अतिक्रमण हटाउने पहिलो चरणको अभियान सम्पन्न भएकाले नगरमा अन्य क्षेत्रमा पनि सडक मिचेर बनेका संरचना र क्षेत्रको पहिचान भइरहेको बताउँदै क्रमशः सबैतिरका त्यस्ता संरचना हटाइने बताए ।

नगरलाई व्यवस्थित र सुन्दर बनाउन सडक मिचेका संरचना हटाउन अभियान थालिएको बेलबारीका नपाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । बेलबारी नगरपालिकाले राजमार्ग क्षेत्रका अवैध संरचना हटाएर सडक क्षेत्रमा रुखबिरुवा रोप्नेदेखि रङरोगन गर्नेसम्मका योजना अघि सारेको नगर प्रमुख सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया