धरानः धरानमा पेस्तोलसहित थप २ जना पक्राउ परेका छन् । केही दिन अघि पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा धरान १० मयुरपथका ३५ वर्षीय राजेश लिम्बु र जनता ग्यारेजका सञ्चालक धरान ५ देउरालीका २५ वर्षीय कुमार भण्डारी रहेका छन् । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय धरानले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । डिएसपी नवराज मल्लका अनुसार शुक्रवार दिउँसो करिब १ बजे धरान ८ स्थित जनता ग्यारेजबाट पेस्तोल बरामद भएको थियो ।
डिएसपी मल्ल आफै उक्त ग्यारेजमा छापा मार्न पुगेका थिए । ग्यारेजबाट पेस्तोलको व्यारेलको भाग, ग्रिप गर्ने (समात्ने) भागसमेत ग्रेण्डर मेसिनले काटी ३ टुक्रा बनाएर लुकाएको अवस्थामा मेड इन युएसए लेखिएको म्यागेजिनसहितको गोली नभएको पेस्तोल बरामद भएको डिएसपी मल्लले जानकारी दिए ।
उनीहरूलाई पन मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको पनि डिएसपी मल्लले जानकारी दिए । यसअघि पनि प्रहरीले धरान १७ का हुकमेन जिमी, दीपक जिमी र धरान १५ का रोहित राईलाई २ थान पेस्तोलसहित पक्राउ गरेको थियो । सोही घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले थप २ जनालाई पक्राउ गरेको हो ।