धरान । सुनसरीकाे धरान उपमहानगरका केहि क्षेत्रमा आज सोमबारबाट वान वे ( एकतर्फी ) सवारी नियम लागु गरिएको छ । स्थानीय सरकार धरान उपमहानगरपालिका र प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीको सकृियतामा आजदेखि मुख्य बजारको सडकमा एकतर्फी सवारी नियम लागु गरिएको हो । सडक सुशासन तथा ट्राफिक नियमलाई दरिलो बनाउन धरानमा बिहान देखि साँझ सम्म व्यापक छलफल चलेको थियो ।
यस अघि धरानको मुख्य बजार क्षेत्रमा चार पाङग्रे सवारी साधनलाई मात्र वान वे लागु गरिएको थियो । विगतमा गरिएको परीक्षणबाट उत्पन्न परिणाम स्वरूप सबै सवारीसाधनहरूमा यो नीति लागु गरिएको एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी महतोले बताए । सचेतनामूलक होडिङ बोर्ड राख्दै डोरीहरू बाँध्दै गर्दा सॅाझमा वान वे लागु गरेका सडक पुनः मेयर ज्यु सँग अनुगमन गर्यो । जसमा हामीलाई परिमाणमुखी नतिजा मिल्यो। नियम उलङ्घन गर्ने २ जना भेट्यो । पहिलो दिनमा यो सामान्य हो एसपी महतोले पूर्वेली न्यूजसंग भने ।
आजबाट भानु चोकदेखि उत्तर लक्ष्मी चोकसम्म सवारीसाधनहरू एकतर्फी जान मात्र पाउनेछन् भने उत्तर पहाडी क्षेत्रबाट आएको सवारीसाधनहरू लक्ष्मी चोकदेखि पृथ्वी चोक, सिंहदेवी, माछाभौडी, देशीलाइन हुँदै मात्र भानु चोक आउन पाउनेछन् ।
मेयर साम्पाङले धरानलाई राम्रो बनाउनका साथै सॅाघुरिदै गएको सडकलाई चुस्त दुरुस्त राख्नु र दुर्घटना र भिडभाड कम गर्ने उद्देश्यले वान वे सुरु गरिएको बताए । भानु चोक र बजार आसपासमा सवारीसाधनको अत्यधिक चाप भएर दुर्घटना हुने गरेको भन्दै उनले वान वे गर्दा सुरुवातमा केही असहज भए पनि सबैले साथ सहयोग गर्न आह्वान पनि गरे । उनले बिस्तारै अन्य क्षेत्रमा पनि सुधार गर्दै जाने बताएका थिए ।