उत्तरी माेरङमा प्रदेश स्तरीय संयुक्त ट्रेनिङ क्याम्प हुने

सुन्दरहरैँचा / उत्तरी मोरङका स्काउट तदर्थ समितिहरूको संयुक्त आयोजनामा फागुन ६ देखि ९ गते सम्म प्रदेश न. १ स्तरीय दाेस्रो संयुक्त ट्रेनिङ क्याम्प सञ्चालन हुने भएको छ । ‘आत्मविश्वासी, अनुशासित र साहसिक म’ भन्ने भावनाका साथ हुने क्याम्पमा ११ देखि १६ वर्ष उमेर समूहका १ हजार २ सय जना स्काउटरहरूले सहभागी जनाउँने आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मोरङको सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी, केराबारी तथा लेटाङका स्काउट तदर्थ समितिको संयुक्त आयोजनामा क्याम्प सञ्चालन हुन लागेको मूल आयोजक समितिका संयोजक बादल देवानले जानकारी दिए । उनले क्याम्पका विभिन्न कियुका १ सय जना रोभर तथा रेञ्जरहरू सेवा दलका रूपमा खटिने तथा करीब ५० जना स्काउट मास्टर तथा लिडरहरु सहभागी हुने बताए ।

एक्टिभिटिज, क्रिएटिभिटी र इन्टरटेन्मेन्टअन्तर्गतका ५३ वटा बेसमा हुने क्याम्पमा १ दिन निःशुल्क भ्रमण पासको व्यवस्था गरी स्काउटमा आबद्ध नभएका सामुदायिक तथा निजि २ हजार विद्यार्थीहरूलाई क्याम्प भ्रमण गराइने आयोजकले जनाएको छ । स्काउटरहरूलाई जीवनोपयोगी सीप प्रदान गर्दै नयाँ सदस्य वृद्धि गरी बालबालिकाको चारित्रिक, शारीरिक एवम् नेतृत्व विकास, स्वाबलम्बी, अनुशासित, चरित्रवान राष्ट्रसेवक तयार पार्नु कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।

स्वास्थ्य चेतना, विपद व्यवस्थापन, सामाजिक कुरीति र अन्धविश्वास हटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न योग्य नागरिक बनाउने कार्यक्रमको लक्ष्य रहेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ । करिव १५ लाख ८४ हजार रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको सो क्याम्पको उदघाटन प्रदेश नम्बर १ का मुख्य मन्त्री हिक्मतकुमार कार्कीले गर्ने आयाेजक समितिका सचिव सन्ताेष घिमिरेले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया