धरानमा मोलमोलाइ गरेको आरोपमा धरानकी शान्ता खड्का पक्राउ

धरान / महिला सञ्जालको नाम लिँदै विभिन्न घटनामा आफू महिला अधिकारकर्मी बताउँदै पैसाको बार्गेनिङ गर्ने गरेको आरोपमा शान्ता खड्का पक्राउ परेकी छिन् । आरोपित खड्कालाई उनकै निवास धरान-१४ विजयपुरबाट अहिले बिहान इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले पूर्वेली न्युजलाई जानकारी दिए।

बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिको परिवारसँग मुद्दा मिलाइदिने भन्दै बार्गेनिङ गरेको आरोपमा शान्ता खड्का विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएको डिएसपी श्रेष्ठको भनाई छ। धरान-१४ मा बस्ने खड्काले विभिन्न अपराधका घटना मिलाइदिने भन्दै बार्गेनिङ गर्ने गरेको आरोप महिला सञ्जाल धरानले लगाएको छ ।उनले महिला सञ्जालको नाम लिएर पीडित महिलालाई न्याय दिलाउने नाममा पीडक पक्षसँग पैसाको बार्गेनिङ गर्ने गरेको प्रमाणहरू पछिल्लो समय सार्वजनिक भएको थियो । सोही क्रममा महिला सञ्जाल धरानले खडकालाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

धरान-१७ मा बस्दै आएका एक व्यक्ति खड्काको समेत संलग्नतामा बलात्कार आरोपमा थुनामा छन् । उनलाई थुनामुक्त गराउन साक्षी बसेकालाई बयान फेर्न लगाउने भन्दै ती व्यक्तिको श्रीमतीसँग खड्काले १० लाख बार्गेनिङ गरेकी थिइन् । पछि साढे ३ लाख मागेर दैनिक जसो फोन गर्ने गरेका थिइन् । सोही क्रममा ती महिलाको मृत्यु भएपछि उनको आफन्तजनले खड्का विरुद्ध प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए ।

डिएसपी श्रेष्ठले खड्का विरुद्ध ठगी मुद्दा दर्ता भएको र पक्राउ पुर्जी जारी भएकोले आज बिहान खड्कालाई उनकै घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको जानकारी दिए । शान्ताको डेढ वर्षको छोरा भए पनि उनलाई प्रहरीले हिरासतमा राखेर अन्य अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया