निर्वाचन सुरक्षा भरपर्दो बनाउँदै जिल्ला प्रशासन सुनसरी 

धरान / मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा निर्वाचन सुरक्षाको सम्बन्धमा सुनसरी जिल्ला सुरक्षा समिति तथा प्रदेश निर्वाचन कमाण्ड पोष्ट बिच भएको समन्वय बैठक सम्पन्न भएको छ । निर्वाचन भयरहित ढङ्गले सम्पन्न गराउनका लागि सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरिको सभाहलमा  सुरक्षा समिति र निर्वाचन कमान्डबिच छलफल भएको निर्वाचन कार्यालय सुनसरिले जनाएको छ। सुरक्षा निकायका नेपाल प्रहरी,सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान आयोग, निर्वाचन आयोग , राजनीति दल र पत्रकारबिच सो बैठक बसेको हो।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे चासो र चर्चा बढ्न थालेको छ । केही समूहले निर्वाचन बिथोल्न औपचारिक रूपमै आह्वान गरेको र गतिविधि बढाएकाले सुरक्षा व्यवस्था थप कडा पारेको प्रशासनले जनाएको छ । नेपाली सेनाले समेत निर्वाचन लक्षित सुरक्षा परिचालन गरेकाले कुनै प्रकारको अवाञ्छित गतिविधि हुन नपाएको जनाइएको छ । 

सुनसरिमा ५ लाख ४४ हजार मतदाता रहेका छन् । सुनसरि जिल्लामा १६६ मतदान स्थलमा ५९१ मतदान केन्द्र रहेका छन् । जसमा २ अस्थायी मतदान केन्द्र रहेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सुनसरि निर्वाचन कार्यालयले नमुना मतदान गरिएको छ । बदर मतको सङ्ख्या कम गराउन सिकाइका रूपमा नमुना मतदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। सुरक्षाको लागि नेपाल भारतको सीमा नाका निर्वाचन अगावै ७२ घण्टा सिल गर्ने दुई देशका सुरक्षा अधिकारीहरूको बैठकले निर्णय गरिसकेको सिडिओ यादवको भनाई छ ।

जिल्लामा स्वच्छ, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था मजबुत पारेको सशस्त्र प्रहरी बल सुनसरिका एसपी विक्रम होमागाईले   बताए। निर्वाचनलक्षित गरी तीन तहमा सुरक्षा परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय सुनसरिका एसपी प्रभु ढकालले जानकारी दिए। ‘पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ’ 

यसका लागि नेपाल प्रहरी र म्यादी प्रहरी बढी परिचालनको तयारीमा छ । सशस्त्र प्रहरीले समेत निर्वाचनलाई लक्षित गरी ४ वटै निर्वाचन क्षेत्रमा सुरक्षा बेस खडा गरी निगरानी बढाएको छ । नेपाली सेनाले निर्वाचन सुरक्षालाई बाहिरी घेराबाट निगरानी गरिरहेको छ भने राष्ट्रिय अनुसन्धान विभागले हरेक गतिविधिमाथि सूक्ष्म निगरानी राखेको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया