मलेसियाबाट फर्किएर व्यवसायीक किवी खेतीमा व्यस्त मगर

खोटाङ / मलेसियाको बसाई, सेक्यूरिटी गार्डको काम । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी गोगनेका राजेश थापा मगरलाई ड्यूटीको क्रममा कुनै दिन एक छिन फुर्सद मिल्दैनथ्यो । कामको चाप कम भएको दिन भने समय कटाउन ‘बोर’ हुन्थ्यो ।

तर, उनले फुर्सदको समयलाई खेर फालेनन् । साथमा भएको ल्यापटप खोलेर बिश्वका महंगो र पोषिलो फलफुलका बारेमा यूटयुबमा अध्ययन गरे । त्यस्ता फलफुलको सूचीमा उनले किवी भेट्टाए । सेक्यूरिटी गार्डको काम गर्दागर्दै उनले न्यूजील्याण्डबाट किवी खेती विस्तार भएको जानकारी लिए । तर, उनलाई त्यो बेला नेपालमा किवी फल्छ भन्ने जानकारीसम्म थिएन ।

वैदेशिक रोजगारीका सिलसिलामा राजेश सन् २००३ मा मलेसिया पुगेका थिए । मलेसिया बसाईका क्रममा उनले किवी खेतीका बारेमा सैद्धान्तिक अध्ययन गरे । नेपालको सुलुबुङ (इलाम), दोलखा, गोदावरी लगायतका ठाउँमा किवी खेती भइरहेको भिडियोहरु भेट्टाए । आफ्नो गाउँठाउँको हावापानी सुहाउँदो भएकाले घर फर्केर किवी खेती लगाउने सपना बुनेका थिए । साथीभाईलाई किवी खेती लगाउने योजना सुनाउँदै आएका राजेश सन् २०१३ मा घर फर्के । उसो त उनी सन् २००१ मै मलेसियाको स्टिल फर्निचर उद्योगमा पुगेर तीन वर्ष बताइसकेका थिए ।

घर फर्कदा बुबाले तत्कालिन कृषि कार्यालयमार्फत प्राप्त आठ बोट किवी हुर्काइसकेका थिए । केही किवी फल्न पनि थालेको थियो । त्यसले उनको सपनामा उर्जा थप्यो । किवी खेती लगाउने बारेमा थप अध्ययन गर्न गोदावरी पुगे । गोदावरीबाट प्रतिवटा पाँच सयका दरले बोर्न जातको किवीको दुई सय बोट बेर्ना ल्याए । रामेछापबाट आलिसान, हेवार्ड र मन्टी जातको तीन सय बोट बेर्ना ल्याएर बारीमा रोपे । रोपेको दुई वर्षदेखि फाट्टफुट्ट फल दिन थालेको किवीले चार वर्षदेखि प्रशस्त उत्पादन दिन थालेको राजेश बताउँछन् ।

बोलेरोमार्फत काठमाडौं ढुवानी

बाबुबाजेले कज्याएको करिब ६५ रोपनी जग्गा थियो गोगनेमा । ४२ रोपानी जग्गामा एकैसाथ किवीको पाँच सय बोट बिरुवा लगाउँदा परिवारबाटै स्वीकृति थिएन । क्रमशः किवीले आम्दानी दिन थालेपछि परिवार सहमत भए । छरछिमेकमा किवी खेतीको सिको सुरु भयो । सन् २०१७ देखि उनको बगानबाट किवीको फल काठ्माडौं निर्यात हुन थालेको हो । त्यस वर्ष उनले करिब पाँच सय किलो किवी बोलेरो गाडीमार्फत पहिलोपल्ट काठ्माडौं पुर्‍याएका थिए ।

गत वर्ष बोलेरोमार्फत तीन टन किवी काठ्माडौं पुर्‍याएका थिए । काठ्माडौं निर्यात गर्दा र स्थानीय बजारमा बिक्री गर्दा गत वर्ष करिब तीन लाखको हाराहारीमा आम्दानी भएको राजेश बताउँछन् । प्रायः मंसिर पहिलो हप्ता किवी काठ्माडौं निर्यात गर्ने गरेका छन् ।

राजेश किवी खेती लगाउने गाउँपालिकाकै पहिलो किसान हुन् । व्यवसायीक रुपमा किवी लगाएका उनले २०७५ सालमा नमूना अर्गानिक किवी फर्म स्थापना गरेका छन् । हाल उनको बगानमा किवीका चार सय बयस्क बोट छन् । उनले गोल्डेन, एलोजोया, रेड किवी र हार्डी प्रजातिका गरी १२० बोट नयाँ बिरुवा थपेका छन् । केही वर्षपछि ट्रकबाट किवी निर्यात गर्ने राजेशको लक्ष्य छ । ‘किवी महंगो खेती हो ।

सानो पुँजी हुनेले यसको खेती गर्न सक्दैन । तर मेहनत खेर जाँदैन । बजारको समस्या हुन्न,’ राजेशले भने, ‘बिक्री नभए प्रशोधन गरेर खाद्यवस्तु बनाउन सकिन्छ । वाइन, जुस र रक्सी उत्पादन गरेर आम्दानी लिन सकिन्छ । भण्डारण गर्ने व्यवस्था भए धेरै राम्रो हुन्थ्यो ।’

राजेशले २०७५ सालमा बागवाणी केन्द्र फाप्लु, सोलुखुम्बुबाट किवी खेती सम्वन्धी तालिम लिने अवसर पाए । सोही बागवाणी केन्द्रमार्फत किवीको बोट अड्याउने पिलर र तारका लागि ७ लाख अनुदान पाए । सो अनुदानले कुल लगानीको करिब २५ प्रतिशत सहयोग मिलेको उनी बताउँछन् । उनको मेहनत देखेर गाउँपालिकाले २०७४ सालमा ४० हजार अनुदान उपलव्ध गराएको थियो ।

७ वडा रहेको गाउँपालिकाभरीमा हाल ४० जनाको हाराहारीमा किवी खेती गर्ने किसान छन् । फर्म नै दर्ता गरेर किवी खेती गर्ने किसानको संख्या पनि ६/७ जना पुगिसकेको छ । बिनोद राई, जिवा शेर्पा लगायतका किसानले किवीबाट लोभलाग्दो आम्दानी लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया