हत्यामा संलग्न भएको आशङ्कामा तीन जना पक्राउ

झापा / झापा र इलामको सिमानामा हिजो एक व्यक्तिको हत्या गरेको आशङ्कामा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो अपराह्न साढे ४ बजे खुकुरी प्रहारबाट दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा बसोबास गर्दै आएका एलबी गुरुङ नामले चिनिने ४६ वर्षीय लालबहादुर गुरुङको मृत्यु भएको थियो ।

झापा र इलामको सीमा नजिक पर्ने रतुवा खोलाको पुलमा गुरुङमाथि खुकुरी प्रहार भएको थियो ।“प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ, थप अनुसन्धान भइरहेको छ ।” जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख दिलीप घिमिरेले भने । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाहरूको नाम भने खुलाएको छैन ।

घटनामा अन्यको पनि संलग्नता भएको हुन सक्ने भएकाले अहिले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार घटना व्यक्तिगत रिसईवीका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया