विचौलियासँगको आर्थिक चलखेल गर्ने झुम्का कारागारका तीन जना कैदीको सरुवा

धरान : विचौलियासँगको आर्थिक चलखेलमा झुम्का कारागारका तीन कैदी बन्दीको सरुवा गरिएको छ। सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का कारागारका कैदी, कारागार प्रशासनलाई समेत जानकारी नै नदिई अन्यत्र सारिएपछि कैदीबन्दीहरुले चर्को विरोध जनाएका छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेब घिमिरे र विभिन्न अपराधिक घटनामा संलग्न रहेका इटहरी–२० तरहराका कमल तामाङको मिलेमतोमा झुम्का कारागारका कैदीबन्दीहरुको सरुवा गरिएको हो। घिमिरेले झुम्का कारागारलाई समेत जानकारी नै नदिई कारागारका प्यूठानका नेगन केसी, गुल्मीका प्रकास पौडेल र नवलपरासीका विनोद गुरुङको सरुवा गरेका हुन्। आर्थिक चलखेल गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक घिमिरेले सरकारलाई समेत ठूलो रकम नोक्सानी पु¥याउँदै कैदीबन्दीको सरुवा गरेका हुन्।

केसी, पौडेल र गुरुङमध्ये दुई जना झुम्का कारागारको नियमले चौकीदार हुन लागेको अवस्थामा घिमिरे र बिचौलिया तामाङको सेटिङमा कैदीबन्दीको सरुवा गरी झुम्का कारागारमा समस्या उत्पन्न गराइएको कारागार प्रशासन स्रोतले जानकारी दिएको छ। झुम्का कारागारमा चौकीदार नियुक्तिमा आर्थिक चलखेल गरी रकम कुम्ल्याउने उद्देश्यले पुराना कैदीबन्दीलाई अन्यन्त्र सरुवा गरेको बुझिएको छ। घिमिरेले तीनैजनालाई नख्खु कारागार सरुवाको पत्र झुम्का कारागारलाई पठाएको भएपनि बुधबार उनीहरुलाई रामेछाप लगिएको छ।

कारागार व्यवस्थापन विभागले आफू खुसि झुम्का कारागारका कैदीबन्दीको सरुवा गरेपछि एक ब्लकमा कैदीबन्दीहरुले नाराबाजी गर्दै घिमिरेको अवैध कामको विरोध गरेका थिए। विभागले आफू खुसी कैदीबन्दीको सरुवा गर्दा झुम्का कारागार सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ।

सामान्यतया कैदीबन्दीको सरुवा गर्दा कारागारको प्रशासनको अनुरोधमा सुनसरीका प्रमुख जिल्ला अधिकारीले कारागार व्यवस्थापन विभागलाई सिफारिस गर्ने नियम छ। तर, महानिर्देशक घिमिरेले आफू खुसी कैदी बन्दीको सरुवा गरेपछि झुम्का कारागारमा समस्या उत्पन्न भएको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कारागार व्यवस्थापन विभागको अनावश्यक हस्तक्षेपका कारण झुम्का कारागार सञ्चालनमा समस्या भएको गुनाासो आएको बताए। उनले यस विषयमा आवश्यक रिपोर्टिङ गृह मन्त्रालयमा गरिसकिएको बताए।

तीन कैदीबन्दीको सरुवापश्चात झुम्का कारागारको ए र बी ब्लक चौकिदारविहीन भएको छ। मंगलबारसम्म नेगन केसी कारागारको चौकीदार थिए। केसी, पौडेल र गुरुङमध्ये दुई जना झुम्का कारागारको नियमले चौकीदार हुन लागेको अवस्थामा घिमिरे र बिचौलिया तामाङको सेटिङमा कैदीबन्दीको सरुवा गरी झुम्का कारागारमा समस्या उत्पन्न गराइएको कारागार प्रशासन स्रोतले जानकारी दिएको छ। झुम्का कारागारका जेलर महेन्द्रसिंह खड्काले कैदीबन्दी सरुवा गरिएको विषयमा आफूलाई केहि जानकारी नभएको बताए।

कारागार व्यवस्थापन विभागका महानिर्देशक घिमिरेले झुम्का कैदीबन्दीको नियमअनुसार सरुवा गरिएको बताए। उनले कमल तामाङसँग सेटिङ गरी कैदीको सरुवा गरिएको विषयमा कुनै सत्यता नभएको र आर्थिक चलखेल गरी कुनै लाभ नलिएको बताएका छन्। घिमिरेले सरुवा गरिएका तीनै जनालाई नख्खु कारागार नै ल्याइने बताएका छन्।

तपाईको प्रतिक्रिया