सार्वजनिक सवारीमा विद्यार्थीलाई समस्या भएकाे धरान उपमहानगरकाे ध्यानाकर्षण

धरान / नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नगर कार्यसमितिले सार्वजनिक सवारी साधनले विद्यार्थीहरुलाई समस्या दिएको भन्दै धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

शुक्रबार संघका नगर सभापति पारस लिम्बुसहितको टोली उपमहानगरपालिका पुगेर नगरप्रमुख हर्क साम्पाङलाई ज्ञापनपत्र बुझाएको हो । धरान शैक्षिक हव भएकै कारण यहाँ पूर्वाञ्चल इन्जिनियर कलेज, केन्द्रीय प्रविधि क्याम्पस, महेन्द्र वहु क्याम्ससहित धेरै विद्यालयहरु रहेका छन्, यहाँ अध्ययन गर्ने विद्यार्थी धरानका मात्र नभएर प्रदेश न.१ लगायत नेपालमा विभिन्न स्थानबाट आउने गर्छन ।

टाढाबाट धाएर अध्ययन गर्न आउने विद्यार्थीलाई सार्वजनिक बसले नचढाउने, चढाइहाले पनि भाडामा छुट नदिने लगायतका समस्या भएकोले उनीहरुले मेयर साम्पाङलाई सार्वजनिक यातायात व्यवसायी र सार्वजनिक यातायात व्यवसायी महासंघसँग आवश्यक पहल गरेर समस्या समाधान गरिदिन माग गरेका छन् ।

उनीहरुले विज्ञप्तीमा सवारी साधन रोकी, सहुलियत दरमा भाडादर कायम गर्न पहल गरिदिन मेयर साम्पाङसँग अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया