बलात्कार पीडित बालिकाको पेटमा ४ महिनाको गर्भ

मोरङ / मोरङको मिक्लाजुङमा बलात्कारका कारण एक बालिकाको गर्भ बसेको खुलेको छ । घटना बाहिरिएसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट मिक्लाजुङ गाउँपालिका–४ का ४४ वर्षीय छविराज चाम्लिङ राईले बलात्कार गरेर १४ वर्षीया बालिकालाई गर्भवती बनाएको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार बङ्गुरलाई चारो खोज्न जङ्गल गएका बेला ४ महिनाअघि बालिकालाई राईले बलात्कार गरेको खुलेको हो ।
बलात्कार पीडित बालिका गर्भवती भएको घटना बाहिर आएसँगै राई फरार बनेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘बङ्गुरलाई चारो खोज्न बालिका जङ्गलमा पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ साल माघ २६ गते बलात्कार गरेको पाइएको छ,’ श्रेष्ठले भने, ‘घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिँदै डर र त्रास देखाइएका कारण बालिकाले अभिभावकलाई समेत नभनेको खुल्यो ।’
लामो समयसम्म बलात्कारको कुरा बाहिर ल्याउन हिम्मत नगरेकी बालिका नियमित विद्यालय जाने/आउने पनि गरिरहेकी थिइन् । तर अचानक स्वास्थ्यमा समस्या आयो । पेट दुख्यो भनेर बालिकाले गत जेठ २६ गते राति अभिभावकलाई सुनाएपछि स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको पत्ता लागेको डिएसपी श्रेष्ठको भनाइ छ । बालिकाका बुवाले राईविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइसकेका छन् । बालिकाको पेटमा रहेको गर्भ राईको हो कि हैन भनेर थप यकिन गर्न प्रहरीले डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । बलात्कारमा संलग्न भनिएका राईविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनलाई अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया