प्रदेश २ को नाम मधेश प्रदेश पारित , नाम र राजधानी तय भएकोमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम . प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो । जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै यसअघि सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुरलाई पारित गरेको थियो ।

नाम र राजधानी पाएको खुसियालीमा मधेश प्रदेशमा सार्वजनिक बिदा

प्रदेशको नाम र राजधानी पाएसँगै तत्कालीन प्रदेश दुई मा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै उक्त प्रदेशमा बिदा दिइएको हो । प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो । प्रदेश सभामा सभामुखसहित १०४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ ।

मधेश सरकारले नाम र स्थायी राजधानी पाएको खुसियालीमा मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेश सरकारका प्रवक्ता तथा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम भएकाले मंगलबार प्रदेशभरी सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया